© 2026
बर्षदिनमा एकपटक आउने बडादशैंका लागि नेपालीहरू घर फर्किदैछन तर अफसोच दशैंको मुखैमा हजारौं युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाईनमा बसेर सपनाको देश उड्न विवस छन ।
नेपाल नेपाली युवाका लागि सपनाको देश बन्न सकिरहेको छैन् । रास्वपाले विदेश गएका नेपालीलाई स्वदेशमै फर्काउने सपना देखाएर चुनावमा दुई तिहाई ल्यायो तर नेपाललाई स्वदेश ल्याउने होइन, उल्टै विदेश धकेलिरहेको छ । सरकार बनेको ६ महिना पूरा भएको छ । नेपाली युवालाई स्वदेशमै रोजगारीको कुनै ग्यारेन्टी छैन ।
३५ बर्षमा नभएको काम तीन महिनामै गर्ने सपना देखाएका रास्वपा सभापति रवि लामिछानेको चुनावी बाचा अहिले झुत्रो सावित भैसकेको छ । विडम्वना नेपालबाट बाहिरिने युवाको संख्या ह्वात्तै बढेको छ । अहिलेपनि दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार बढी युवाको लाईन छ । नेपालमा रोजगारीको अवसर नहुँदा नेपालीहरूमा विदेश जाने मोह बाध्यता हो ।
माध्यमिक शिक्षा उत्तीर्ण हुन नपाउँदै नेपाली युवा भविष्यको सुनौलो सपना बोकेर विदेश जान बाध्य भैरहेका छन् । नेपालमा रोजगारी, व्यापार व्यवसाय गर्ने वातावरण तयार भएकै छैन । उच्च शिक्षा र राम्रो आम्दानीको आशामा अमेरिका, अस्ट्रेलिया लगायत युरोपका विभिन्न मुलुक जाने नेपालीको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
साना देश जाने नेपाली युवाको संख्या त्यो भन्दा बढी छ । अहिले नेपालमा सवैभन्दा धेरै ब्यापार कन्सल्टेन्सीको छ । विदेश पठाउँछु भनेर पैसा लिने तर यहीँ अलमल्याएर राखिदिने काम भैरहेको छ । राम्रो मुलुक पठाइदिने भन्दै मोटो रकम लिने र दुःख दिने कामले यतिखेर धेरै नेपाली युवाको जीवन तनावमा परेको अवस्था छ । कन्सल्टेन्सीले विदेश पनि नपठाउने, पैसा पनि फिर्ता नदिने । पढेलेखेकैलाई कन्सल्टेन्सीले ठगेको छ भने नपढेका, अक्षर नचिन्नेलाई म्यानपावर कम्पनीले कति ठगेको होला ? उच्च शिक्षा हासिल गर्न जानेहरूलाई नै कन्सल्टेन्सीका सञ्चालकले दिनदहालै ठगीरहेका छन् । आज र भोलि भन्दै अल्मल्याउने काम भइरहेको छ ।
त्यसो त नेपालमा रोजगारीको अवसर छैन भन्ने कुरा असत्य सावित समेत भएको छ । नेपालमै केही गरे यहाँपनि सबै कुरा सम्भव छ भन्ने कुरा प्रमाणित भैसकेको पनि छ । कतिपयले विदेश छोडेर नेपाल आएर मासिक लाखौं कमाएका उदाहरण छन् । नेपालमा काम गर्न लाज लाग्छ तर विदेशमा गएर भाँडा धुन, पसलमा काम गर्न र खेती गर्ने नेपाली पनि छन । तसर्थ सरकारले प्रोत्साहन नदिएपनि नेपालमै केही गर्नेहरूलाई अवसर पनि छ । त्यो अवसरलाई सरकारले युवासंग रोजगारी कार्यक्रममा जोडेर प्रोत्साहित गर्नुपर्छ ।
अर्कोतर्फ नेपालमा ठूलाठूला विश्वविद्यालय, कलेज, स्कुल खुलेका छन् । तर, पढ्नकै लागि भनेर वार्षिक ९० अर्ब बढी रकम बाहिरिने गर्दछ । त्योसँगै शिक्षित जनशक्ति पनि सबै बाहिरिन्छन् । पीआर पाएपछि कतिपयले बाबुआमासहित यहाँ भएको सम्पत्ति पनि बेचेर लान्छन् ।
कमाएर नेपाल ल्याउनुको साटो उल्टो यहाँबाट लैजाँदैछन् । यो विषयमा भने अव सरकारले खबरदारी गर्नु जरुरी छ । नेपालबाट बर्सेनि अर्बौं रकम बाहिर जाने जुन अवस्था छ, त्यसको नियन्त्रण गरिनुपर्दछ । पढ्ने नाममा विदेश जाने परम्पराका कारण नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । जेहोस विदेशमा रोजगारीका लागि जाने युवाहरूले भने त्यहाँ कमाएको पैसा नेपालमै पठाउने गरेका छन् ।
विद्यार्थी पढ्न जाने र त्यति पिआर लिएर बस्दा नेपाललाई ठूलो घाटा छ । अव सरकारले कुनैपनि अवस्थामा विदेश जाने कुरालाई प्राथमिता दिनु हुँदैन । त्यसका लागि नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने काम सुरु गरियोस् । रास्वपा सरकारले जुन प्रतिवद्धता गरेको छ, त्यो पूरा गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
अवको प्राथमिकता बिदेश होइन, स्वदेश बनोस् ।