Butwal Today

रेशम चौधरीको टिप्पणी : कैला जुँगा र काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् ।

हिजो कपाल फुलेका नेताहरूले आफूलाई युवा भन्दै देश बिगारेको आरोप लाग्ने गरेको भए पनि अहिले काला जुँगा र पूरै काला कपाल भएका नेताहरूले समेत देश बनाउने छनक नदेखाएको उनको भनाइ थियो ।

‘गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ । म त तपाईंलाई विश्वास गर्ने मान्छे । दुःख माने मान्नुस्, नमाने नमान्नुस् । हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे,’ उनले भने, ‘अहिले काला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् ।’

अब आधाआधि कपाल फुलेको गगन थापाहरूको पुस्ताले देश बनाउने विश्वास आफूले लिएको उनले बताए ।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?