© 2026
बुटवल ।
बुटवलको देवीनगरस्थित रंगशालामा आजदेखि रमाइलो मेला सुरु भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुने मेला कात्तिक १ गतेसम्म चल्नेछ ।
मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर पाण्डेले बुटवललाई चलायमान बनाउन मेला तथा महोत्सवको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवलका सभापति ज्योति भण्डारी, नेकपाका महेन्द्र भुसाल, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पाल्देन घलानका अनुसार महोत्सवमा विभिन्न प्रकृतिका २५० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइनेछ ।
आयोजक संस्थाका अध्यक्ष विक्कल क्षेत्रीले बुटवलको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए । उनका अनुसार दर्शकलाई नयाँ अनुभव प्रदान गर्न मनोरञ्जनका विशेष आकर्षणहरू समावेश गरिएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिने तथा हट एयर बेलुनसमेत सञ्चालन गरिनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रम संयोजक टेकबहादुर गुरुङका अनुसार बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपहप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिनेछ ।
प्रतियोगिताका विजेता छनोटका लागि एसएमएस वा दर्शकको भोटिङ प्रणाली प्रयोग गरिने छैन । निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने गुरुङले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । विशेष सांगीतिक कार्यक्रम तथा कन्सर्टका लागि भने ३०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।
आयोजकले महोत्सव अवधिभर एक लाखभन्दा बढी दर्शक सहभागी हुने तथा एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको छ ।
यसैबीच, आयोजकले महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने घोषणा गरेको छ ।