© २०२३
वि.सं. २०२० फागुन २० मा रारा पुगेका कवि मविवि शाह (श्री ५ महेन्द्र) ले राराको सौन्दर्यमा मुग्ध भएर कविता लेखे –
“सुन्दरताको भण्डार सारा,
के खनायौ यसै रारामा
राराकी अप्सरा”
मुगुको सेरोफेरोमा बाहेक बाहिर नचिनिएको रारा तालले महेन्द्रको कवितापछि राष्ट्रिय चर्चा र महत्व पायो । विस्तारै कर्णाली बाहिरबाट पनि मानिसहरु रारा भ्रमणमा जान थाले । रारा ताललाई समेटेर राष्ट्रिय निकुन्ज बन्यो । अहिले रारा कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य बनेको छ । वि.सं. २०२४ सालमा झुलाघाटबाट महाकाली नदी तरेर बैतडी हुँदै डडेलधुरा पुगेका साहित्यकार डा. तारानाथ (ताना) शर्माको निबन्ध ‘घनघस्याको उकालो काट्दा’ ले उनलाई मात्र चिनाएन, महाकालीको पहाडको बारेमा नेपालीहरुलाई जानकारी समेत दियो । माध्यमिक शिक्षा लिएका प्रत्येक नेपालीलाई घनघस्याको उकालोको बारेमा जानकारी छ र मिठो कल्पना पनि छ । २०३०÷४० को दशकमा नेपालमा हुर्किएको पुस्ता अहिले डडेलधुरा र बैतडी पुग्दा घनघस्याको उकालोको बारेमा नसोधीरहन सक्दैन । डडेलधुरा– बैतडी यात्रा गर्दा बाटोमा रोकिएर भएपनि घनघस्याको पहाडतर फर्किएर हेर्छ । एउटा निबन्धले पहाड चिनाउन् छोडेको प्रभाव अहिलेसम्म कसैले गर्नैसकेका छैनन् ।
घुम्न खोज्नु मानवीय स्वभाव हो । धेरै मानिसहरु नयाँ कुरा देख्न, जान्न, सिक्न र रमाउनकै लागि विभिन्न ठाउँमा पुगेका हुन्छन् । केही मानिसहरु काम विशेषले एक ठाउँदेखि अर्को भूगोलमा पुगेका हुन्छन् । कर्तब्यपालनको शिलशिलामा फरक भूगोल अनि फरक संस्कृतिमा पुग्दा मानिसहरुले रमाउन छोडेका हँुदैनन् । घुमफिरको लागि होस् वा कामको सिलसिलामा एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा मानिसहरुले फरक भूगोल, फरक प्रकृति, फरक सँस्कृति अवलोकन गर्न र महसुस गर्न पाउँछन । फरक मानिसहरुसंग सम्वाद गर्न पाउँछन । घुमफिर गर्दा त्यहाँ पुग्ने मानिसहरुले त्यो ठाउँका समस्या र सम्भावनाहरु केलाउन पाउँछन् । पछिल्लो समयमा घुमफिरलाई सामाजिक संजालमा पोस्ट गर्नेहरु धेरै भेटिन्छन । घुम्ने मानिसहरुले कहिलेकाहीँ आफ्ना सम्झनाहरु र टिपोटहरु शब्दमा प्रस्तुत गर्छन । कथा, कविता, यात्रा सँस्मरण, निवन्ध वा उपन्यासको रुपमा लेखिएर आउने यात्रा विवरण नै यात्रा साहित्यहरु हुन् । यात्रा साहित्य घुमेका मान्छेहरुको दस्तावेज मात्र नभएर घुम्ने हुटहुटी जगाउने माध्यमहरु समेत हुन् । यात्रा साहित्यले यात्रा, मानिस, जीवन र भोगाइलाई यथार्थता र निजात्मक रुपले प्रस्तुत गर्छ. यस्तो साहित्य पढेर पाठकहरुले आफैले यात्रा गरेको महसुस समेत गर्न सक्छन् ।
२०४० को दशकका धेरै युवाहरु दार्जिलिङ र सिक्किम भ्रमण गर्न लालयित हुनुमा प्रकाश कोविदका उपन्यासमा ति स्थानको बारेमा गरिएका वर्णनहरुको ठूलो योगदान छ । घामका पाइलाहरु (उपन्यास) पढेर वीरगंज पुग्न खोज्ने पुस्तापनि ज्यँुदै छ । लिलबहादुर क्षेत्रीको ब्रह्मपुत्रको छेउछाउ उपन्यासले धेरै पाठकलाई आसामतपÞर्m डो¥याउन सकेको थियो । मोहन मैनालीको उपल्लो थलो होस् वा मान्ठा हराएको युग अनि युवराज नयाँघरेको घामको चुम्बन र अनाम पहाडसँग फनफनी पुस्तक होस् यिनीहरुले स्थान चिनाउन ठूलो मद्दत गरेका छन् । बुद्धिसागरको उपन्यास कणाली ब्लुजले कैलालीलाई र कालिकोटलाई चिनाएको हो । कौतुकमय डोल्पा र कर्णालीको तिरैतिर पुस्तकले कर्णाली चिनाउन मद्दत गरेका छन् । नयनराज पाण्डेका उलार र लू जस्ता उपन्यासले नेपालगंज बुझ्न मद्दत गरेका छन् । हिमाली क्षेत्रलाई चिनाउनको लागि प्रतिक ढकालका गण्डकीको मुहानतिर, सगरमाथाको आधारशिविरबाट, परिक्रमा अन्नपूर्ण, हिमालपारि पुगेपछि, आनन्दभूमिको आँगन, पाइतालाका छापहरू, सेती पनि काली पनि, बियोंड द हिमालयाज, त्यो उज्यालो कर्णाली जस्ता पुस्तकहरुले निकै ठूलो योगदान पु¥याएका छन् । लुम्बिनी प्रदेश र छिमेकी प्रदेशका घुम्नयोग्य स्थानहरुको बारेमा सजिव वर्णन गरेर घुम्ने हुटहुटी जगाउने काममा लेखक केवी मसालको योगदान प्रशंसनीय छ । काठमाण्डौका ठूला र भलाद्मी लेखकहरुले विदेश यात्राका वर्णनमा धेरै शब्दहरु खर्चिएपनि मोफसलबाट उदाएका लेखक र नयाँ पुस्ताले भने देशका कुनाकाप्चालाई कथा, कविता, उपन्यास र नियात्राको रुपमा लेखिरहेका छन्, साहित्य बजारमा बेचिरहेका छन् । नेपालमा पछिल्लो समयमा युवा पुस्तालाई आम पर्यटक नपुग्ने भित्री क्षेत्रहरुमा घुमाउन यिनै साहित्यको पनि ठूलो योगदान रहेको कुरालाई भुल्न मिल्दैन ।
गौतमबुद्धको महापरिनिर्वाणको केहि समयपछि नै लुम्बिनी र कपिलवस्तु तहसनहस भए । बुद्धभूमि पछ्याउँदै पाँचौ शताब्दी र सातौ शताब्दीमा चिनिया यात्रीहरु फाहियान र हुयानसांग कपिलवस्तु र लुम्बिनीमा आए । फरक समयमा आएका यी चिनियाले आफुले देखेको कपिलवस्तु र लुम्बिनीलाई आफ्नो यात्रा वर्णनमा उतारे । सांगले देख्दा नै कपिलवस्तु विनासको चरणमा थियो । कपिलवस्तु, लुम्बिनी, देवदह र रामग्राम जस्ता स्थलहरु नष्ट हुदै गए र लामो समयपछि मानिसहरुको स्मृतिबाट समेत हराएका थिए । चिनिया यात्रीका यात्रा वर्णन प्रकाशित भएपछि पुरातत्वविदहरुले प्राचिन बौद्ध नगरहरुको खोजी सुरु गरे । चिनिया लेखकले उल्लेख गरेका दुरी र दिशा पछ्याउदै खोजी गर्दा लुम्बिनी र कपिलवस्तु पत्ता लागेका हुन् । यी यात्रा वृतान्त नभएको भए कपिलवस्तु र लुम्बिनी पत्ता नलाग्न सक्थे वा भारतका कुनै भू–भाग लुम्बिनी कहलीसकेका हुनेथिए होला । नेपालले लुम्बिनीको प्रवद्र्धन गर्न शुरु नगर्दै विदेशी यात्री र बौद्ध भिक्षुहरुले लेखेका पुस्तक र लेखहरु पढेर लुम्बिनी र कपिलवस्तुमा विदेशीहरु आउन थालिसकेका थिए र यहाँ आएर फर्किएर गएकाहरुले लुम्बिनीको बारेमा लेखिदिएका सामग्रीले नै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रचार भैरहेको छ ।
अचेल घुमफिर गर्नेहरुको संख्या बढिरहेको छ । र, घुमफिर गरेकाहरुले आफ्नो घुमफिरलाई तस्विर, भिडियो र शब्दमा सामाजिक संजालमा राख्ने गरेका छन् । यसले सिमित समूहमा घुमफिर गरेको स्थानको बारेमा जानकारी पुग्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो घुमफिर सम्झनालाई लेखको रुपमा मिडियामा पस्किरहेका हुन्छन र कहिले पुस्तकको रुपमा प्रकाशन समेत गरिरहेका छन् । सामाजिक संजालमा आएका पोस्टले सिमित र अल्पकालीनरुपमा प्रभाव पार्न सक्छन तर पत्रपत्रिका, म्यागेजिनमा आएका लेख रचना र पुस्तकमा आएका यात्रा वर्णनले दस्तावेजको रुपमा रहेर दिर्घकालीन रुपमा पर्यटन प्रचार गर्न सक्छन् । पर्यटन प्रवद्र्धनमा सशक्त माध्यमको रुपमा यात्रा साहित्यले भूमिका निर्वाह गर्ने भएकोले पर्यटन विकासको लागि कार्यरत निकाय र पर्यटन उद्यमीहरुले यात्रा साहित्य लेख्न र प्रकाशन गर्न लेखकहरुलाई प्रेरित गरिरहनु पर्छ । साहित्यकारहरुलाई एकल र सामूहिक रुपमा उदियमान पर्यटकीय गन्तव्यमा घुम्न लैजाने, ओझेलमा परेका र सम्भावित गन्तब्य तथा सम्पदा स्थलहरुमा साहित्यिक कार्यक्रम गरेर यात्रा साहित्य लेखनमा सघाउन सकिन्छ । पर्यटन बोर्ड, ट्राभल तथा टुर संस्थाहरुका साथै तिनै तहका सरकारका निकायहरुले यात्रा साहित्य लेखनका लागि लेखनवृत्ति प्रदान गरेमा राम्रा यात्रा साहित्यहरु सिर्जना हुन सक्छन् । पर्यटनको बारेमा लेखिएका साहित्यिक कृतिहरुलाई मूल्यांकन गरि पुरस्कार दिने कार्यको थालनी भएमापनि घुम्ने, लेख्ने र प्रकाशन गर्नेहरुको संख्या वृद्धि हुन सक्छ । कुनैपनि ठाउँको सुन्दरता, सबलता, सभ्यता र सम्पदाको बारेमा जति धेरै लेखकहरुले लेख्नेछन, जति धेरै पाठकले पढ्नेछन् उति नै धेरै मानिसहरुमा घुमफिर गर्ने इच्छा जाग्नेछ, जसले पर्यटन प्रवद्र्धन र विकासमा अतुलनीय योगदान पुग्नेछ ।
यात्रा साहित्यमा देखेको कुराको वर्णन मात्र नभएर भोगेको कुरा र साथमा आफ्नो दृष्टिकोण समेत हुन्छन् । सबै लेखको भोगाई अनुभूति राम्रै हुन्छन भन्ने हुदैन । लेखकले भ्रमणमा सोचेजस्तो कुरा र व्यवहार नपाएमा कुनै ठाउँको बारेमा नकारात्मक कुराहरु लेख्न सक्छन् । सुधार्न सकिने ब्यवहारजन्य कुराहरु यात्रा साहित्यमा आएमा सम्बन्धित निकायले तुरुन्त सुधार गर्नुपर्छ तर साहित्यकै नाममा कुनै लेखकले मनगढ़न्ते र भ्रमात्मक कुराहरु लेखेमा पर्यटन व्यवसायमा संलग्न पक्ष र सरकारी निकायले त्यसको खण्डन गरेर सच्याउन लगाउनु पर्छ । साहित्यको नाममा लेखिने गलत संदेश, सूचना र प्रतिक्रियाहरुले पर्यटकहरुलाई भड्काउने भएकोले यस्तो कुरा नलेखियोस भन्ने कुरामा पर्यटन क्षेत्रका निकायहरु, लेखक र प्रकाशक सचेत हुनुपर्छ । विदेशी लेखकहरुले कतिपय ठाउँमा नेपालको बारेमा भ्रमात्मक कुरा लेखिदिदा अन्तर्राष्ट्रिय जगतमा नेपालीले शिर निहुराउनुपरेको मात्र छैन, पर्यटन विकासमै समेत बेलाबेलामा अवरोध हुने गरेको छ । विदेशी लेखकले फैलाउने भ्रमलाई चिर्नको लागि पनि नेपाली लेखकहरुले यात्रा साहित्यमा कलम चलाउनुपर्छ ।
साहित्य समाजको ऐना हो । यो कुरा पर्यटन क्षेत्रको हकमा पनि लागू हुन्छ । साहित्यकारको शब्दबाट पाठक र आम मानिसहरुले जीवन र जगतलाई अवलोकन गरिरहेका हुन्छन् । पर्यटकहरुलाई कुनै ठाउँमा ल्याउनको लागि हुटहुटी जगाउनुपर्छ । यसका लागि यात्रा साहित्यले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले यात्रा साहित्यलाई पर्यटन प्रवद्र्धनसंग जोड्नुपर्छ । यात्रा साहित्य लेखनमा सर्जकहरु अघि सर्ने र राज्य र नीजि क्षेत्रले सर्जकहरुलाई साथ दिने हो भने नेपालका सबै स्थान र सम्पदाहरु पर्यटन बजारमा परिचित हुने अवसर पाउनेछन । अनि पर्यटकका पाईलाहरु ति स्थानमा अवश्य पनि डोरिएर आउनेछन् । [email protected]