Butwal Today

कपिलवस्तुमा दूध ट्याङ्कर दुर्घटना, सहचालकको मृत्यु

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा ।

दूध बोक्ने ट्याङ्कर रुखमा ठोक्किएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा बुधवार सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु.प्र.०१–००१ क ०८४५ नम्बरको दूध बोक्ने ट्याङ्कर राति करिब १०ः५० बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा ट्याङ्करका सहचालक अर्घाखाँचीको सन्धिखर्क–५, बाँग्लाका २६ वर्षीय आशिष अधिकारी गम्भीर घाइते भएका थिए । ट्याङ्करमा च्यापिएका अधिकारीलाई स्थानीय युवा र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि गोरुसिङ्गे स्थित बुद्ध पोलि क्लिनिक प्रालिमा लगेको निरीक्षक ढकालले बताए ।

सामान्य उपचारपछि अधिकारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि एम्बुलेन्समार्फत बुटवल पठाइएको थियो । बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा राति १२ः५५ बजे चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेको उनको भनाइ छ ।

निरीक्षक ढकालका अनुसार ट्याङ्कर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बरकलपुरका ३८ वर्षीय महेशप्रसाद चौधरीले चलाएका थिए । दुर्घटनापछि चालक चौधरी र ट्याङ्करलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा राखिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?