© 2026
अर्घाखाँची ।
नेपाली काँग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट पार्टीको १५औँ महाधिवेशनका लागि सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
अर्घाखाँचीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा खसेको करिब १ हजार ६८० मतमध्ये भुसालले १ हजार ४४६ मत प्राप्त गरिन् । जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये सर्वाधिक मत प्राप्त गरेकी हुन् । खसेको मतको करिब ८७ प्रतिशत मत प्राप्त गरेकी हुन् ।
नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया वडा अधिवेशनबाट सुरु भएर क्षेत्रीय प्रतिनिधि हुँदै अघि बढ्ने व्यवस्था छ। काँग्रेसले १५औँ महाधिवेशनका लागि वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो ।
हाल नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिको जिम्मेवारीमा रहेकी भुसाल देशकै प्रभावशाली नेतृका रूपमा परिचित छिन् । राजनीतिक परिवारबाट आएकी भुसाल पूर्व मन्त्री स्वर्गीय काशीनाथ गौतमकी छोरी हुन् ।
अर्घाखाँचीको विकास र राजनीतिक परिवर्तनमा लामो समयदेखि सक्रिय गौतम परिवारको राजनीतिक विरासत बोकेकी भुसालले जिल्लाबाटै काँग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो प्रभाव स्थापित गर्दै आएकी छिन् । यस पटक महाधिवेशन प्रतिनिधिमा प्राप्त गरेको सर्वाधिक मतले जिल्लामा उनीप्रतिको सङ्गठनात्मक समर्थनलाई समेत देखाएको छ ।