Butwal Today

बिजुलीको उज्यालोसँगै हराउँदै गए उज्याला ‘जुनकिरी’

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

पाल्पा । बगनासकाली गाउँपालिका–नायरका ७० वर्षीय नरबहादुर थापा अँध्यारा रातमा जुनकिरीको उज्यालोलाई सहारा बनाएर वर्षौं खेतबाट घर फर्किए । अहिले भने उनको गाउँमा जुनकिरी देखिन मुस्किल छ ।

वर्षायाम सकिएपछि शरद ऋतुको आगमनसँगै गाउँका बाटो, आँगन र डहरमा झिमझिम उज्यालो छर्ने जुनकिरी कुनै समय ग्रामीण जीवनको अभिन्न हिस्सा थियो । चकमन्न अँध्यारो रातमा बाटो देखाउनेदेखि गाउँबेँसी गर्नेसम्मका लागि जुनकिरीको उज्यालो सहारा बन्ने गरेको पुरानो पुस्ताका मानिसहरू सम्झन्छन् ।

चिदीपानी बुटुकेका मानबहादुर राना पनि खेतबाट घर फर्कंदा वा अन्य ठाउँबाट राति घर फर्कंदा जुनकिरीकै उज्यालोको सहारा लिन्थे । “पहिले अहिले जस्तो सुविधा थिएन । राति हिँड्दा जुनकिरीकै सहारामा बाटो पार गर्नुपर्थ्यो । गाउँमा बिजुली बत्ती आएपछि विकास र सुविधा त थपियो, तर हाम्रा साथी जुनकिरी भने हराउँदै गए,” उनले भने ।

तिहारको औँसीमा जुवा खेल्न वा देउसी–भैलो खेल्न एक गाउँबाट अर्को गाउँ जाँदा पनि जुनकिरीको उज्यालोले बाटो देखाउने गरेको पुरानो पुस्ताका दिलबहादुर सारु सम्झन्छन् । उनका अनुसार गाउँमा बिजुली बत्ती नहुँदा जुनकिरीको झिमझिम उज्यालोले दसैँ–तिहार नजिकिएको संकेतसमेत गराउँथ्यो ।

“वर्षा ऋतु सकिएपछि गाउँबस्तीमा झिमझिम उज्यालो देखिन्थ्यो । जुनकिरी देखिन थालेपछि मुख्य पर्वहरू नजिकिएको महसुस हुन्थ्यो,” सारुले भने ।

जुनकिरी देख्नेबित्तिकै बालबालिकाहरू त्यसलाई समात्न दौडिने र प्रतिस्पर्धा गर्ने गरेको उनी बताउँछन् । अहिले भने नयाँ पुस्ताका बालबालिकाका लागि जुनकिरी दुर्लभ दृश्य बनेको छ ।

“अहिलेका बालबालिकाले जुनकिरी हेर्न पनि मुस्किल छ । जुनकिरीबारे जानकारी लिन किताब पढ्नुपर्ने अवस्था आएको छ,” चर्लुङ्कीका पुराना पुस्ताका शिक्षक देवीप्रसाद भट्टराईले बताए ।

जुनकिरी एक प्रकारको किरा हो । यसको शरीरको पछिल्लो भागबाट मधुरो प्रकाश निस्कन्छ । प्रकाश निकै कम भए पनि ठूलो संख्यामा जुनकिरी एकैपटक देखिँदा गाउँका आँगन, डहर र बाटाघाटा झिमझिम उज्याला देखिन्थे ।

कुनै समय टर्चलाइटसमेत सहज उपलब्ध नभएका बेला जुनकिरीकै उज्यालो ग्रामीण जीवनको ‘अँध्यारोको साथी’ बनेको बगनासकाली गाउँपालिका–बराङ्दीका गणेश बस्याल बताउँछन् । “गाउँबेँसी गर्नेदेखि तानसेनबाट राति घर फर्कंदासम्म जुनकिरीको उज्यालोको सहारा लिनुपर्थ्यो,” उनले भने ।

गाउँबस्तीमा बिजुली पुगेपछि भने रातको अँध्यारो हट्यो । घर, आँगन र बाटाघाटामा ठूला बत्ती बल्न थाले । तर कृत्रिम प्रकाशको बढ्दो प्रयोगले जुनकिरीजस्ता साना जीवको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा असर परेको विज्ञहरू बताउँछन् ।

किट विज्ञ देवेशकुमार मिश्रका अनुसार कृत्रिम प्रकाशका कारण जुनकिरीजस्ता किराको प्रजनन प्रक्रियामा असर परेको हुन सक्छ । “प्रकृतिसँग कृत्रिम सामग्रीले प्रतिस्पर्धा गर्न थालेपछि यस्ता सूक्ष्म जीवहरू हराउँदै गएका छन्,” उनले बताए ।

जुनकिरी मात्रै होइन, कृषकका साथीका रूपमा चिनिने अन्य धेरै किरासमेत पछिल्लो समय हराउँदै गएका छन् । वर्षको निश्चित समयमा खेतबारीमा आवाज निकाल्ने ठूला आकारका किराहरू पहिले गाउँमा प्रशस्त देखिन्थे । यस्ता किराले दसैँ–तिहारजस्ता पर्व नजिकिएको संकेत दिने गरेको पुरानो पुस्ताको सम्झना छ ।

कृषि उत्पादन जोगाउने नाममा विषादीको अत्यधिक प्रयोगले यस्ता मित्र किरासमेत प्रभावित भएको किट विज्ञ मिश्र बताउँछन् । उनका अनुसार प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने किराहरूको संख्या घट्दै जानु जैविक विविधताका लागि चिन्ताको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?