© 2026
बुटवल ।
बुटवल उपमहानगरपालिकाले बाढीबाट घर पूर्ण रूपमा क्षति भएका ५ परिवारलाई तीन महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
आज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले वडा नं. ११ को टप मजुवा क्षेत्रमा बाढीका कारण पूर्ण रूपमा क्षति भएका पाँच घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
निर्णयअनुसार प्रत्येक परिवारले तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै, बाढीबाट आंशिक क्षति भएका दुई घरपरिवारलाई पनि आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा क्षति पुगेको पक्की ढलानसहितको तटबन्ध (वाल) यथाशीघ्र पुनर्निर्माण गर्न जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा बाढी तथा विपद्बाट प्रभावित क्षेत्रको अवस्था, तत्कालीन राहत, पुनः स्थापना तथा आगामी दिनमा अपनाउनुपर्ने जोखिम न्यूनीकरणका उपायबारे छलफल भएको थियो ।
विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, टोल विकास संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखालाई बिथोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले धन्यवाद दिए ।