© 2026
कपिलबस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि आज बिहान करिब साढे १ बजे ढुंगा खसेको हो ।
घाइते हुनेमा बर्दियाको गोरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्वारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार र कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन् ।
ढुंगा बसमाथि खस्दा सिटले च्यापिएका उनीहरूको उद्धार गरी उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्याइएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । टोलीले सिटले च्यापिएका यात्रुहरूको उद्धार गरेको हो ।
बसमा ३० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।