Butwal Today

आफ्नो र परिवारको शान्ति सुरक्षाको माग गर्दै चोलेन्द्रले दिए प्रहरीमा निवेदन

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो ।

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।

विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको पनि निवेदनमा उल्लेख छ ।

पछिल्लो समय केही विषयबारे प्रहरी कार्यालयबाट जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै जबराले सुरक्षा व्यवस्था बढाउन माग गरेका हुन् ।

आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै जबराले निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले निवेदन दिएको पुष्टि गरेका छन् ।

यसअघि शनिबार राति जबराका छोरा सचिन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी आइतबार दिउँसो छुटेका थिए । उनको पक्राउको विषयलाई लिएर विभिन्न टिकाटिप्पणीसमेत भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?