Butwal Today

नारायणी नदीको जलसतह घट्दै, अन्य प्रमुख नदीमा बाढीको जोखिम न्यून

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गएको जनाएको छ ।

महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणीबाहेक अन्य सबै प्रमुख तथा सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल झरेको छ ।

आज बिहानको मापनअनुसार नारायणी नदीको जलसतह भने सतर्कता तहभन्दा माथि नै रहे पनि पानीको बहाव निरन्तर घट्दो क्रममा छ । देवघाटस्थित नारायणी नदीको मापन केन्द्रमा आज एक दिनका लागि पानीको बहावमा सामान्य घटबढ हुने भएकाले सतर्क रहन आग्रह गर्दै पहेँलो संकेत राखिएको छ । भोलिदेखि त्यहाँको अवस्था पनि पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाको पाँच दिने पूर्वानुमानअनुसार कोशी, कर्णाली र महाकालीलगायत ठूला जलाधार क्षेत्रमा तत्काल बाढीको जोखिम देखिएको छैन । आगामी असोज १६ गतेसम्म यी नदीका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीका विभिन्न मापन केन्द्रमा पानीको बहावमा सामान्य घटबढ मात्र हुने अनुमान गरिएको छ । यी सबै नदीमा आजदेखि पाँच दिनसम्म जोखिम न्यून रहेको जनाउने हरियो संकेत राखिएको छ ।

देशका स–साना नदीहरूमा पनि तत्काल बाढीको खतरा नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, “आजदेखि पर्सि असोज १४ गतेसम्म देशभरका अधिकांश स–साना नदीमा बहाव सामान्य रहनेछ ।”

त्यसैगरी, आज बिहानदेखि आगामी २४ घण्टाका लागि देशभर आकस्मिक बहावको जोखिम पनि न्यून रहेको महाशाखाले जनाएको छ । विभिन्न जिल्लाबाट बग्ने स–साना नदीमा फ्ल्यास फ्लडको सम्भावना नरहेको भन्दै महाशाखाले पूरै देशलाई न्यून जोखिम जनाउने हरियो रङले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?