© 2026
विश्वबाट युद्धको त्रासदी अझै अन्त्य भएको छैन । ठूला शक्ति राष्ट्रहरू युद्धकै मोर्चामा छन । अमेरिका, रुस जस्ता शक्ति राष्ट्रले इरान र युक्रेन जस्ता देशलाई निशाना बनाईरहेका छन् ।
युद्ध अन्त्यको संकेत भन्दा विश्व युद्ध मोर्चामा अघि बढिरहेको देखिएको छ । सन्दर्भ अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूलन दिवसको हो । शनिवार यो दिवस विश्वभर मनाइएको छ । तर, दिवसको कुनै सार्थकता तबसम्म रहँदैन जबसम्म शक्ति राष्ट्रहरूले परमाणु हतियारको धम्की दिएर साना राष्ट्रमाथि आफ्नो नियन्त्रण छोड्दैनन् ।
अहिलेसम्मको अवस्था हेर्दा त्यो देखिदैन । अमेरिका र रसियाको पछिपछि अरू देशहरू पुच्छर बनेर लागिरहेका छन् । पारमाणविक हतियारहरूको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, जसलाई आणविक हतियार उन्मूलन दिवस पनि भनिन्छ । संयुक्त राष्ट्रसंघले हरेक वर्ष सेप्टेम्बर २६ मा मनाउँछ ।
संयुक्त राष्ट्रसंघले यो दिवसमा परमाणु हतियारबाट हुने चुनौति र यसको निर्मूलनका लागि आह्वान गर्दै आएको छ । यो दिनले आणविक निशस्त्रीकरणको यात्रातर्फ विश्वलाई अघि बढाउन प्रेरित गर्दछ । तर, यो दिवस मनाईरहँदा पछिल्लो समयमा विश्वमा परमाणु हतियार निर्माण र त्यसको भण्डारणले विश्वलाई चिन्तित वनाएको छ ।
विश्वका शक्तिशाली राष्ट्रले परमाणु हतियारमा कटौती गरेका छैनन् । उत्तर कोरियाले परमाणु बमले विश्वलाई तहसनहस बनाउन सक्ने चेतावनी दिदै आएको छ । रुस, अमेरिका, चीन, पाकिस्तान, भारत, बेलायत, फ्रान्स लगायतका मुलुकहरू आणविक हतियारको धेरै भण्डारण गर्ने राष्ट्रमा पर्दछन् ।
पछिल्लोसमय चीन र भारतले आणविक हतियार निर्माण र भण्डारणको कामलाई तिव्रता दिएका छन् । चीन र भारत आणविक शक्ति निर्माणको दौडमा छन । चीनले जल, स्थल र हवाई सेनाको निर्माणसँगै आणविक हतियारहरूको पनि त्यसैगरी विकास गरिरहेको छ ।
रिपोर्टका अनुसार भारतले पाकिस्तानलाई पछि पार्नेगरी आणविक हतियारको विकास र भण्डारण गरिरहेको छ । त्यसैगरी यहि समयमा उत्तरकोरियाले पनि आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिको एक महत्वपूर्ण अंशको रूपमा आणविक कार्यक्रमलाई अघि बढाइरहेको छ । विश्वमा अहिले सबैभन्दा बढी आणविक हतियार रुससँग रहेको छ ।
आजभन्दा ६ बर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा १ सय २२ मुलुकले परमाणु हतियारमा प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर गरेका थिए । तर, सन्धिको उल्लंघन गरिएको छ । परमाणु हतियार निर्माणमा विश्वका शक्तिशाली देश लागिरहँदा अशान्ति, युद्ध र कलहको चिन्ता थपिएको छ ।
रुस–युक्रेन युद्धको लामो समय भैसकेको छ । इजरायलले गाजामा आक्रमण गर्दा लाखौं नागरिक घरबारविहीन भएका छन् । कतै विजयी हुने उन्मादमा रुसले युक्रेनमाथि आणविक हतियारको प्रयोग त गर्दैन भन्ने चिन्ता विश्वभर उब्जिएको छ । यो चिन्ता र चासोले आणविक हतियार प्रयोगको घातक अभ्यासबाट सिंगो विश्वले भोगेको अपूरणीय क्षतिको विगत सम्झाइदिएको छ ।
बर्षौसम्म तन्किएको युद्धको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आणविक हतियार आक्रमणको चेतावनी दोहो¥याइरहेका छन् । कतिपयले भने रुस–युक्रेन युद्धले विश्व फेरि तेस्रो विश्वयुद्धतिर धकेलिने त होइन भन्ने आशंका गर्दै आएका छन् । तर, चार बर्षदेखि जारी युद्ध समाप्ति हुने कुनै संकेत छैन् ।
शक्ति राष्ट्रहरूको आणविक हतियार प्रदर्शन, चेतावनीले विश्वमा आणविक हतियारहरूको होडबाजी तथा प्रयोग बढ्दै जाने चिन्ता थपिदिएको छ । सन् १९४५ मा हिरोसिमा र नागासाकीमा भएको आणविक हतियार विस्फोटमा लगभग दुई लाख ३५ हजार मानिसको मृत्यु भएको थियो । हिरोसिमा र नागासाकीको त्यो भयानक त्रासदीले अहिलेपनि सिंगो विश्वलाई तर्साइरहन्छ ।
जापानले परमाणु हतियारले पु¥याएको क्षतिको पीडा अहिले पनि भोगिरहेको छ । अतः हिरोसिमा र नागासाकीको घटनाबाट विश्वले पाठ सिक्नु जरुरी छ ।