© 2026
सामान्यतया नेपालमा १३ जुनको दिनमा मनसुन प्रवेश गर्ने भएपनि यो वर्ष करिब ६ दिन ढिलो गरि १९ जुन २०२६ मा पूर्वी नेपालबाट मनसुन प्रवेश गरि क्रमशः विस्तार हुँदै ३० जुनसम्म देशभर फैलिएको थियो । मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु हुनुअघि नै २०२६ को मनसुनमा देशका अधिकांश स्थानमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना अनुमान गरेको थियो ।
हालसम्मको मनसुन अवधिको वर्षा सामान्यभन्दा करिब २५.७% कम वर्षा भएको मौसम विभागको हालसम्मका तथ्यांकले देखाउँछन् । मनसुन ढिलो आएपनि प्रि–मनसुनमै अत्यधिक वर्षा भएको थियो । मार्च–मे २०२६ को प्रि–मनसुन अवधिमा देशभर औसत वर्षा सामान्यको करिब १४५.५% पुगेको थियो । प्रि–मनसुनको समयमा राम्ररि नै पानी परेको भएपनि रोपाई गर्ने समयमा पानी नपर्दा किसानले निकै सास्ती भोग्नु परेको थियो ।
लामो खडेरीले गर्दा भूमिगत जलश्रोत समेत सुकेको र वर्षाको कमीले गर्दा अरू सिचाई प्रणालीहरूबाट पानी नआएकोले तराईका धेरै किसानले बेलैमा धान रोप्न पाएनन् । वर्षाको कमीले गर्दा साउनको पहिलो सातासम्म धान खेती हुने खेतमध्ये ७९.३६% खेतमा रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको थियो ।
धान रोप्ने बेलामा राम्रोसंग पानी नपरेपनि त्यसपछिको समयमा सामान्य भएपनि निरन्तर रूपमा वर्षा भैरहेकोले रोपाइँ गरेको धान खेतीमा समस्या देखिएको छैन । मनसुन सक्रिय भएको समयमा यो वर्ष खेतिपातिलाई नै असर पुग्ने गरि ठुला विपदका घट्नाहरू भएको देखिदैन । मनसुनको उत्तरार्धतिर भदौ १० गते भोटेकोशी, त्रिशुलीमा आएको विनाशकारी बाढीको कारण रसुवादेखी चितवन जिल्लासम्म ति नदी किनारमा रहेका खेतबारीमा ठुलो क्षति पुगेको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारमिभक प्रतिवेदन अनुसार यो बाढीको कारण करिब १,८०० हेक्टर कृषि क्षेत्र प्रभावित पारेर रु. १.०९ अर्बको बाली क्षति, र पशुपन्छीतर्फ थप रु. १.११ अर्ब क्षति गराएको भएको छ । नदीले बगाएको, पुरेको ठाउँमा तत्कालै खेतीपाती गर्न सकिने सम्भावना हुदैन, त्यसैले बाढी प्रभावित जिल्लाहरूले दिर्घकालिन रूपमा कृषि उत्पादनमा ह्रासको समस्या भोगिरहनु पर्नेछ ।
नेपालको करिब ८३ प्रतिशत भूभाग हिमाल तथा पहाड र १७ प्रतिशत भूभाग तराई प्रदेशमा पर्छ । नेपालको पूरै भू–भाग १० सक्रिय भूकम्पीय क्षेत्रमा पर्छ । भौगर्भिक रूपमा गतिशील पर्वत शृंखला, अस्थिर तथा अति भिरालो जमिन र कमजोर भौगोलिक वनावट अनि ६००० भन्दा बढी नदीनाला भएकोले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । यी विविध कारणहरूले गर्दा नेपालमा हरेकवर्ष ५०० भन्दा बढी विविध किसिमका विपदका घटनाहरू हुने गर्छन् ।
भौगोलिक÷भौगर्भिक कारण बाहेक हिमपात, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, हुरी बतास, शितलहर, लू जस्ता जलवायु परिवर्तनजन्य विपदको कारणले पनि नेपालले वर्षेनी ठूलो क्षति भोग्नु परिरहेको छ । यस्ता सबै मौसमजन्य र जलवायु परिवर्तनजन्य विपदहरूबाट कृषि क्षेत्रमा सबैभन्दा बढी नोक्सानी भएको देखिन्छ । कृषि विभागका वार्षिक प्रतिवेदनहरू अध्ययन गर्दा पछिल्ला ५ वर्षमा औषतमा वार्षिक ५ अर्ब रुपिया बराबरको क्षति कृषि क्षेत्रमा परिरहेको छ ।
नेपालमा प्राकृतिक विपत्तिको क्षति मृतक, घाइते र वेपत्ताको संख्या, भत्किएका घर र बिग्रिएका संरचनाको संख्याको आधारमा मुल्यांकन गर्ने गरिएकोले ति बाहेक कृषि क्षेत्रमा हुने गरेको क्षतिको खासै मतलब गर्ने चलन छैन । तर विगत ५ वर्ष यताका अतिवृष्टि, अनावृष्टि र खडेरीले भविष्यमा नेपालको कृषि क्षेत्रले विपदबाट भोग्नुपर्ने समस्याको बारेमा संकेत गरिसकेको छ ।
असार–श्रावण महिना नेपालीको मुख्य खेतीपाती लगाउने समय हो । यहि समयमा नेपालका कुनै ठाउँमा खडेरीको कारण धान रोप्न पाएका हँुदैनन् भने कतै मनसुनको उच्च प्रभावले बाढी पहिरोका घटनाहरू धेरै हुने गरेको पाइन्छ । वर्षेनी दोहोरिने पहिरो र नदी कटानले गर्दा खेतबारीहरू बगरमा परिणत हुने, बाढी र डुवानले गर्दा लगाएको बाली नष्ट हुने घटना वर्षेनी बढिरहेका छन् ।
समय समयमा आउने सानाठूला भूकम्पले गर्दा पहाडी क्षेत्रका खेतबारीहरू चिराचिरा परेर खेतीपातीको लागि जोखिमपूर्ण बन्दै गएका छन् । यस्ता विपदले खेतीपाती गर्ने जग्गाको क्षेत्रफल र उत्पादकत्व मात्र घटेको छैन, किसानहरूको ठुलो मेहनत र लगानी समेत खेर गैरहेको छ अनि नेपाली किसानहरूलाई झनझन गरिब र कृषि पेशाबाट नै विस्थापित गराउँदैछ ।
पछिल्ला वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्दै गएका छन् । खासगरी बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीका दिनहरू बढ्दै गएका छन् । बाली पाक्ने र भित्राउने बेलामा एक्कासी पानी झरी र असिना पानीले वर्षेनी लाखौ मेट्रिक टन बालीनाली खेतमा नै नष्ट हुने गरेको छ । हिमाली क्षेत्रमा हुने अस्वाभाविक हिमपात, तराइमा चल्ने शित लहरले समेत नेपाली किसानहरूलाई बारम्बार पिडित बनाइरहेको छ । बाढी र पहिरोको आंशिक भएपनि पूर्वानुमान गरि रोकथामका प्रयासहरू गर्न सकिने भनेपनि अतिवृष्टि, खडेरी शितलहरको सहज पूर्वानुमान गर्न नसकिने भएकोले यस्ता विपदबाट किसानले बढी मौसमी क्षति बेहोर्नुपरेको छ ।
कृषि कार्य नेपालीको प्रमुख पेशा र हातमुख जोर्ने उपाय पनि हो । प्राकृतिक विपत्तिको कारण यो पेशा संकटमा परेको मात्र छैन, पेशाबाट पलायन तथा कृषि उपजको उच्च आयात जस्ता समस्याहरू समेत बढिरहेका छन् । विपत्ति आइसकेपछि बालीनालीलाई जोगाउन मुस्किल हुन्छ, त्यसैले प्राकृतिक विपत्तिबाट जोगिन र क्षति न्यूनीकरण गर्नको लागि सरकार र किसान दुबैको भूमिका आवश्यक हुन्छ । सामान्यतया प्राकृतिक विपत्तिबाट कृषि क्षेत्रलाई जोगाउन निम्न कार्यहरू गर्नुपर्ने हुन्छ ।
१.पूर्व तयारी तथा पूर्वसूचना प्रणाली
अचेल सरकारी निकायबाट मौसमको पूर्वानुमान गर्ने र त्यसको प्रचार गर्ने काम भैरहेको छ । किसानहरूले यस्ता मौसमको पूर्वानुमान र विपद्को पूर्वसूचनामा खासै ध्यान दिएको देखिदैन । तिनै तहका सरकारले किसानहरूलाई स्थानीय भाषा र सञ्चार माध्यम (मोबाइल एसएमएस, स्थानीय रेडियो) मार्फत मौसमको पूर्वानुमान र विपद्को पूर्वसूचना समयमै उपलब्ध गराउने र किसानले त्यसलाई गम्भीरताका साथ् लिएर विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी योजना बनाउने र त्यसै अनुसार बालि लगाउने, बालि स्याहार्ने, पशुलाई चरिचरणमा लैजाने जस्ता काम गर्ने हो भने आफ्नो बालीनाली र पशुहरूलाई विपदबाट धेरै जोगाउन सकिन्छ ।
२. जलवायुमैत्री तथा जोखिम सहनशील खेतीपाती
नार्कले नेपालको मौसम, हावापानी सुहाउदो अनेकौ बालि प्रजातिको विकास गरेको छ । सुख्खा खप्न सक्ने, बाढी सहने (डुबान सहने) र छिटो पाक्ने बालीका किसिमहरूको प्रयोग गर्ने हो भने मनसुनजन्य विपत्तिको असर खेतीपातीमा कम पर्छ । एकै प्रकारको बाली लगाउनुको साटो मिश्रित बाली प्रणाली अपनाउन सकेमा एउटा बाली नष्ट हुँदा पनि अर्को बालीले राहत दिन सक्छ । खेतको छेउछाउमा आँप, सुन्तला, कागती, एभोकार्डो, दालचिनी, भुइँ कटहर, नासपाती, अम्रिसो बालि लगाउने हो भने बाटोको चिस्यान जोगाउन र खेतलाई भूक्षयबाट जोगाउँदै नगद आम्दानी समेत गर्न सकिन्छ ।
३. पूर्वाधार विकास तथा संरक्षण प्रविधि
भिरालो जमिनमा गरा सुधार, वृक्षारोपण र तटबन्ध निर्माण गरी पहिरोबाट खेतीयोग्य जमिनलाई बचाउन सकिन्छ । खेतबारीमा पानी जम्न नदिन पानी निकासको व्यवस्था गर्ने, वर्खायाममा बढी हुने पानीलाई जम्मा गरेर राख्नको लागि ठाउँ ठाउँमा पोखरी निर्माण गर्ने, सुक्खा लागेको बेला पानी पु¥याउन भरपर्दो पक्की कुलो बनाउने, कुलोको नियमित सरसफाई गर्ने तथा खोलामा बाढी आएको समयमा कुलो, नहरको मुहान बन्द गर्ने हो भने बाढी र पहिरोबाट खेतिपातीलाई जोगाउन सकिन्छ । परम्परागत खेतिपातीलाई वर्षा र शीत लहरबाट जोगाउन गाह्रो हुने भएपनि व्यवसायिक खेतीपाती गर्नेहरूले ग्रिन हाउस, टनेल खेती र नेट हाउसको प्रयोग गरी असिना, अत्यधिक वर्षा र घामबाट बालीलाई जोगाउन सक्छन् । बारम्बार बाढी पहिरो आइरहने स्थानमा कटानी गरिएको बालीलाई सुरक्षित राख्न पारिलो र उच्च स्थानमा आँगन÷ खलियान बनाउने, उच्च स्थानमा बाली भण्डारण गर्ने काम गर्नुपर्छ । छिटो नष्ट हुने बालीलाई लामो समयसम्म जोगाउनको लागि सरकारले चिस्यान केन्द्रको व्यवस्था गरिदिनुपर्छ । बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा गोठहरू अग्लो र सुरक्षित स्थानमा निर्माण गर्ने तथा दाना–पानीको वैकल्पिक भण्डारण गर्ने जस्ता कामले विपत्तिको समयमा पनि पशुपालनलाई निरन्तरता दिन सकिन्छ ।
४. बाली तथा पशुपन्छी बीमा
नेपाल सरकारले कृषि तथा पशु बिमा कार्यक्रम लागू गरेको छ । धेरै पालिकामा स्थानीय सरकारले बिमा शुल्कमध्ये केही रकम आफैले तिरिदिने गरेको समेत देखिन्छ । सरकारको अनुदानसहितको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्ने र किसानहरूलाई बढी भन्दा बढी यसमा आवद्ध गराउने हो भने प्राकृतिक प्रकोपका कारण बालीनाली र पशुपन्छीमा हुने अपूरणीय क्षतिबाट किसानलाई बचाउन सकिन्छ । यो काम प्रभावकारी रूपमा गर्न सकियो भने प्राकृतिक विपत्तिपछी किसानहरू भोकभोकै हिड्नुपर्ने, आत्महत्या गर्नुपर्ने र पेशा नै छोडेर हिड्नुपर्ने अवस्थामा कमी आउँछ ।
५. अन्य तयारी
स्थानीय किसानलाई प्राकृतिक विपत्तिबाट जोगाउनको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय स्तरमा कृषि प्राविधिकमार्फत विपद्को बेला र विपद् पश्चात अपनाउने तरिकाबारे तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा विपद् प्रभावित किसानहरूलाई तत्काल बीउबिजन, मलखाद, र आर्थिक राहत उपलब्ध गराउन स्थानीय तहमा विशेष आपत्कालीन कोष स्थापना गर्ने काममा स्थानीय सरकारले बढी सक्रियता देखाउनु पर्छ । थुप्रै समुदायमा विपदसंग जुध्ने, विपदबाट बाली र कृषि गतिविधिलाई जोगाउने रैथाने र परम्परागत ग्यान र अभ्यासहरू रहेका छन् ।
त्यस्ता ज्ञान, सिप र अभ्यासलाइ समुदायमा आदानप्रदान गर्ने, ज्ञान र सिपको पुस्तान्तरण गर्ने जस्ता कामहरूमा सरकार र समुदाय दुवै लाग्नुपर्छ । विद्यालय शिक्षामा प्राकृतिक विपत्तिबाट खेतीपाती र पशुपालनलाई जोगाउने सम्बन्धि विषयवस्तु समावेश गरेर पनि नयाँ पुस्तालाई विपद विरुद्ध तयारि अवस्थामा राख्न र कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
कृषि क्षेत्र खाद्यवस्तु उत्पादनमा मात्र सिमित छैन, सस्कृति र पर्यटन, जैविक विविधता संरक्षण र परिस्थितिक प्रणालीको संचालनसंग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । अहिले नै कृषिजन्य उत्पादनको लागि ठुलो धनराशी विदेशिएको छ । नेपालको कृषि क्षेत्रमा मौसमजन्य विपद र जलवायु परिवर्तनसिर्जित विपदहरू बढ्दै जादा कृषि र पशुपालन जटिल र उत्पादन कम हुदै जानेछ । यसले कृषिजन्य उत्पादनमा पर निर्भरता बढाउनेछ ।
कृषिमा विपदका असरहरू बढ्दै गएमा वन तथा भू–संरक्षण, जलाधार र जलश्रोत संरक्षण, पर्यटन र साँस्कृतिक व्यवहारको निरन्तरतामा गम्भीर असर पर्ने निश्चित छ । कृषि क्षेत्रलाई विपदबाट जोगाउन सकिएन भने हाम्रो जीवन र जीविका पनि जोगिन सक्नेछैन । यी कुरा सबै सरोकारवालाहरूले बेलैमा बुझ्नुपर्छ ।