Butwal Today

लुम्बिनीमा तीन दिन भारी वर्षाको उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

भैरहवा । लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानजिकका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न भू–भागसहित रुपन्देहीमा समेत मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण जिल्लाका तिनाउ नदी, दानव नदी, रोहिणी खोलारनदी, कञ्चन खोला लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका तटीय तथा होचा भू–भागमा बाढी, डुबान र कटानको जोखिम उच्च रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबार सार्वजनिक गरेको ‘सतर्क रहने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना’मार्फत उक्त अवधिभर सम्पूर्ण जिल्लावासीलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको हो।

प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा नदी, खोला र जलाशय आसपास अनावश्यक आवतजावत नगर्न समेत आग्रह गरेको छ। सम्भावित विपद्को अवस्था आएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयसँग तत्काल समन्वय गर्न भनिएको छ।

त्यस्तै, विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC) को सम्पर्क नम्बर १२३४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले मौसमजन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै नदी तथा खोलाको आसपासका बस्ती र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षाका समयमा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी पार गर्ने, माछा मार्ने, घुमफिर गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सवारी सञ्चालन गर्ने कार्य नगर्न प्रशासनले सचेत गराएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जारी गरेको सूचनामा विपद् आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रशासनले स्थानीय तह तथा सुरक्षा निकायलाई समेत सम्भावित विपद्को जोखिममा रहेका क्षेत्रप्रति निगरानी बढाउन र आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?