© 2026
भैरहवा ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्रता र विश्वव्यापी सम्पदा मूल्य जोगाउँदै बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकास अघि बढाउन अन्तर्राष्ट्रिय सम्मेलनले ठोस कार्यदिशासहितको सुझाव र कार्ययोजना तय गरेको छ ।
नेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष र विश्व बैंकको सहकार्यमा असोज २ देखि ४ गतेसम्म लुम्बिनीमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ ले सम्पदा संरक्षण, स्थानीय समुदायको सहभागिता, वातावरणीय दिगोपना र आर्थिक अवसरलाई एकीकृत गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो । सम्मेलनमा स्थानीय समुदाय, गुम्बा तथा विहारका प्रतिनिधि, पर्यटन तथा आतिथ्य व्यवसायी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, नीति निर्माता, स्थानीय सरोकारवाला र विकास साझेदार गरी १५० भन्दा बढीको सहभागिता थियो ।
सम्मेलनले जारी गरेको १२ बुंदे सुझावमा बृहत्तर लुम्बिनी क्षेत्रको भावी नीति, विकास निर्माण र स्थानीय व्यवस्थापनलाई मार्गदर्शन गर्ने गरी विभिन्न प्राथमिकता तय गरिएको छ । त्यसअनुसार लुम्बिनीको पवित्र उद्यानमा शान्त बौद्ध वातावरण कायम राख्दै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिले यहाँको पवित्र दृश्यचित्र, स्थानीय रीतिरिवाज र आस्थालाई असर नपर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलनको अर्को महत्वपूर्ण निष्कर्ष विकास निर्माणसँग सम्बन्धित छ । अब बृहत्तर लुम्बिनी क्षेत्रमा पूर्वाधार वा विकासका आयोजना अघि बढाउनुअघि गुरुयोजना, भू–उपयोग योजना, संरक्षण योजना, जलवैज्ञानिक अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजना तयार गरी लागू गर्नुपर्ने सुझाव दिइएको छ ।
लुम्बिनी विकास कोष, स्थानीय नगरपालिका, स्थल व्यवस्थापक, सम्बद्ध मन्त्रालय र सामुदायिक संस्थालाई कार्यान्वयनको जिम्मेवारी तोक्दै सम्मेलनले सिफारिसहरुलाई समयसीमासहित अघि बढाउने आधारसमेत तयार गरेको छ । स्थानीय समुदाय, विहार तथा गुम्बा समुदाय र अन्य सरोकारवालासँग समन्वय गरी विकास प्रक्रियामा उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
सम्मेलनले सम्पदा संरक्षणलाई स्थानीय जनताको जीविकोपार्जनसँग जोड्ने ‘पवित्र परिदृश्य केन्द्रित’ विकास अवधारणालाई अघि सारेको छ । यसअन्तर्गत सम्पदा संरक्षण, सामुदायिक विकास, वातावरण संरक्षण र स्थानीय रोजगारी तथा जीविकोपार्जनका अवसरलाई एकीकृत गर्ने नीति अपनाउन सुझाव दिइएको छ ।
सम्मेलनमा लुम्बिनीको पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक तथा पुरातात्विक अवशेषको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्यलाई सम्मान गर्दै पुनस्र्थापना तथा मर्मतसम्भार गर्नुपर्नेमा पनि जोड दिइयो । आगन्तुक तथा पर्यटकलाई लुम्बिनीका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको अर्थ र महत्वबारे जानकारी तथा शिक्षा दिने व्यवस्था गर्नुपर्ने निष्कर्षसमेत निकालिएको छ युनेस्कोको संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले जानकारी दिईन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले धार्मिक तथा आध्यात्मिक पवित्रता कायम राख्दै विकासलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीलाई केवल एउटा सम्पदा स्थलका रुपमा नभई विश्वभरका मानिसलाई शान्ति, करुणा र साझा मानवताको सन्देश दिने जीवन्त सांस्कृतिक परिदृश्यका रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरुले लुम्बिनीको पवित्र उद्यानसँगै तिलौराकोट–कपिलवस्तुलगायत बृहत्तर लुम्बिनी क्षेत्रका प्रमुख सम्पदा स्थलको स्थलगत अवलोकनसमेत गरेका थिए । स्थलगत अध्ययनबाट संरक्षणका वर्तमान प्रयास, चुनौती, तीर्थयात्री तथा स्थानीय समुदायका आवश्यकतालाई प्रत्यक्ष रुपमा बुझेर विभिन्न बहुविषयक ‘ज्ञान वृत्त’मार्फत प्राथमिकताका सिफारिस तय गरिएको हो ।
प्रतिनिधि सभा सदस्य तौफिक अहमद खानले बौद्ध समुदाय र स्थानीय जनताको आकांक्षालाई विकासको केन्द्रमा राख्नुपर्ने बताए । उनका अनुसार तीर्थयात्रीलाई प्रार्थना, ध्यान, अध्ययन र बौद्ध अभ्यासका लागि सम्मानित वातावरण उपलब्ध गराउँदै स्थानीय समुदायलाई रोजगारी, जीविकोपार्जन, उद्यमशीलता र विकासमा सार्थक सहभागितामार्फत लाभ दिलाउनुपर्ने आवश्यकता छ ।
सम्मेलनका निष्कर्ष विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन भइरहेको ‘बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना’को कार्यान्वयन तथा नेपाल सरकारका आगामी कार्यक्रम र योजना निर्माणमा उपयोग गरिने जनाइएको छ । यसले लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलगायत बृहत्तर क्षेत्रको सन्तुलित विकास र सम्पदा संरक्षणका लागि आगामी कार्यदिशा निर्धारण गर्ने आधार तयार गरेको छ ।



