© 2026
बुटवल ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
खाँण रुपन्देही क्षेत्र नं. ३(ख) अन्तर्गत शुद्धोधन गाउँपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् । पार्टीको महाधिवेशनका लागि स्थानीय तहबाट प्रतिनिधि छनोट गर्ने क्रममा भएको निर्वाचनमा उनले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेका हुन् ।
कांग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत वडा तहबाट सुरु भएको प्रतिनिधि छनोटको क्रममा खाँण पनि प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन् । क्षेत्रीय प्रतिनिधि बनेसँगै उनी अब पार्टीको महाधिवेशन प्रतिनिधि छनोट तथा त्यसपछिका संगठनात्मक प्रक्रियामा सहभागी हुनेछन् ।
खाँण नेपाली कांग्रेस रुपन्देहीको नेतृत्वमा रहेर जिल्लामा पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । उनी तिलोत्तमा नगरपालिकाका प्रमुखसमेत हुन् ।
पार्टीको १५औँ महाधिवेशनका लागि देशभर वडा, पालिका र क्षेत्रीय तह हुँदै प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ । सोही क्रममा रुपन्देहीमा पनि विभिन्न निर्वाचन क्षेत्र तथा स्थानीय तहबाट कांग्रेसका प्रतिनिधिहरू चयन भइरहेका छन् ।