© 2026
पाल्पा । निस्दी गाउँपालिका–झिरुवासबाट बसाइँ सरेर रामपुर नगरपालिका–स्थित किसानबारीमा बस्दै आएकी ४३ वर्षीया सरिता सोतीले जीवनमा यति ठूलो वियोग सहनुपर्ला भनेर कहिल्यै कल्पना गरेकी थिइनन् ।
एकपछि अर्को गर्दै सन्तान र जीवनसाथी गुमाउँदा अहिले उनको जीवनमा सम्झनाबाहेक केही बाँकी छैन । माध्यमिक तहमा अध्ययन गर्दै गरेकी छोरी गुमाएको पीडाबाट सरिता पूर्ण रूपमा मुक्त हुन नपाउँदै गत महिना भोटेकोशी नदीमा आएको बाढीले उनका श्रीमान् र छोरालाई समेत सधैँका लागि टाढा बनाइदियो । बाढीमा बेपत्ता भएका श्रीमान् ४७ वर्षीय रामबहादुर सोती र छोरा २६ वर्षीय अमृत सोतीको अवस्था अझै अज्ञात छ ।
“सुरुमा त फोनको घण्टी बज्दा श्रीमानको हो कि छोराको हो जस्तो लाग्थ्यो,” सरिता भक्कानिँदै भन्छिन्, “झिनो आशा बोकेर आफन्तसँग बाढी प्रभावित क्षेत्रमा पुगेँ । तर खाली हात फर्किनुप¥यो । छोरीको शोकको पीडा नसेलाउँदै सिन्दूर पुछियो, चुरा फुट्यो । भविष्यको सहारा बनेको छोरासमेत गुमाएँ ।”
रामबहादुर आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएका थिए । औपचारिक शिक्षा धेरै अघि बढाउन नपाएका उनले परिवारको जीविका चलाउन लामो समयदेखि निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका थिए । कहिले निर्माण स्थलमा मजदुरका रूपमा त कहिले आफैँ सानो–ठूलो कामको जिम्मेवारी लिएर उनी रसुवा र नुवाकोट क्षेत्रमा पुग्ने गरेका थिए ।
परिवारको सुख र सन्तानको भविष्यका लागि वर्षौँदेखि घरबाहिर रहेर काम गर्दै आएका रामबहादुरले छोरा अमृतलाई भने आफूजस्तै दुःख नहोस् भन्ने चाहेका थिए । कक्षा १२ उत्तीर्ण गरेका अमृत पढाइमा मेहनती र अनुशासित थिए । पढाइसँगै परिवारलाई सहयोग गर्ने उद्देश्यले उनले स्नातक तहको अध्ययनलाई अघि बढाउनुभन्दा बाबुसँगै काममा जाने निर्णय गरेका थिए ।
“अमृत पढाइमा निकै लगनशील थियो । व्यवहार पनि असल थियो,” अमृतका नजिकका साथी बलबहादुर सोती भन्छन्, “कक्षा १२ पास गरेपछि बाबुलाई सहयोग गर्न र कामको जिम्मेवारी लिन उनी तीन वर्षदेखि बाबुसँगै जाने गरेका थिए । बाढी आउनुअघिसम्म बेलुका प्रायः फोनमा कुरा हुन्थ्यो ।”
बाबु–छोराले रसुवाको कुन जलविद्युत् आयोजनामा काम गर्थे भन्ने यकिन जानकारी भने परिवारलाई समेत थिएन । सरिताले पनि श्रीमान् र छोरासँग काम गर्ने कम्पनीको नामबारे सोधिनन् । उनीहरूले पनि बताउन नभ्याएको स्थानीय बताउँछन् । यही कारण बाढीपछि खोजी र पहिचानको प्रक्रिया थप कठिन बनेको छ ।
स्थानीय सरकारका प्रतिनिधि दोमराज तिवारीका अनुसार केही समयअघि अमृत वडा कार्यालयमा नागरिकताको सिफारिस लिन आएका थिए । “नागरिकता बनाएर काममा फर्किएपछि बाबु–छोरा दुवै अत्यन्तै मलिन देखिन्थे,” तिवारी सम्झन्छन् ।
बाढी गएको लामो समय बितिसक्दा पनि बाबु–छोराको कुनै अत्तोपत्तो नहुँदा सरिताको आशा क्रमशः कमजोर हुँदै गएको छ । सुरुमा जीवितै भेटिने आशा थियो । त्यसपछि कम्तीमा शव भेटिएला र अन्तिम संस्कार गर्न पाइएला भन्ने आशा रह्यो । अहिले त्यो आशासमेत हराउँदै गएको छ ।
“पहिला त सास भेटिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसपछि लास भए पनि भेटिए हुन्थ्यो भन्ने भयो । अब त लास भेटिने आशासमेत सकियो,” सरिता भन्छिन्, “दैवको लीला, लास पनि भेटिएन ।” छोरा अमृतका लागि आफन्तले र उनका बाबु रामबहादुरका लागि देवरले डीएनए परीक्षणका लागि रगतसमेत दिएका छन् । तर शव नभेटिएपछि अन्तिम संस्कारको विषय पनि अन्योलमा परेको छ । स्थानीयका अनुसार अमृतका लागि कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारीसमेत भएको थियो । तर आफन्त र छिमेकीले त्यसो नगर्न आग्रह गरे ।
सरिता अहिले अधिकांश समय पुराना कुरा सम्झेर टोलाउने गर्छिन् । छोरी गुमाएको पीडामाथि श्रीमान् र छोरालाई समेत गुमाउनुपरेपछि उनी पटक–पटक अचेत हुने गरेको आफन्त बताउँछन् । छिमेकी र आफन्तले उनलाई सम्झाउने र साथ दिने प्रयास गरिरहेका छन् ।
“चार वर्षको फरकमा परिवारका तीन सदस्य गुमाउनुपर्दा उहाँको अवस्था हेर्नै नसकिने भएको छ,” एक छिमेकीले भने, “आफन्तले सकेसम्म साथ दिइरहेका छौँ । तर आफ्ना मान्छे गुमाएको पीडा अरूले सम्झाएर मात्रै कहाँ कम हुन्छ र ?”
भोटेकोशीमा आएको बाढीले पाल्पाका अन्य परिवारलाई पनि यस्तै पीडा दिएको छ । बाढीका कारण पाल्पाका ११ जना व्यक्तिका आफन्त सम्पर्कविहीन भएको बताइएको छ । तीमध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको मात्र शव पहिचान भएको छ ।
रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्यरत तानसेन–लामडाँडाकी ३५ वर्षीया नीलम कार्कीको शव नभेटिएपछि कुशको शव बनाएर राम्दीमा अन्त्येष्टि गरिएको छ । तातोपानी भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरीका रैनादेवी छहरा–सिद्देश्वरका २६ वर्षीय प्रहरी जवान अनबहादुर कुमाल पनि सम्पर्कविहीन छन् ।
त्यसै गरी रसुवाको जलविद्युत् आयोजनामा कार्यरत रिब्दीकोट गाउँपालिकाका कृष्णबहादुर बस्याल, सोही आयोजनाका टिप्पर चालक विकास नेपाल, तिनाउ गाउँपालिकाका जलविद्युत् आयोजनाका मेकानिकल सुपरभाइजर ३५ वर्षीय रमेश थापा, रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत बगनासकाली गाउँपालिका–दर्लामडाँडाका किशोर न्यौपाने क्षेत्री तथा बगनासकाली गाउँपालिका–यम्घा गुगाका जलविद्युत् आयोजनामा कार्यरत मेकानिकल इन्जिनियर अभ्यास न्यौपाने पनि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् ।
भोटेकोशीको भेल रोकिएको धेरै भइसक्यो । नदी आफ्नो गतिमा बगिरहेको छ । तर सरिताको जीवनमा भने त्यो बाढी अझै रोकिएको छैन । छोरी गुमाएको घाउमाथि श्रीमान् र छोराको वियोग थपिएको छ । आफन्त र छिमेकी उनको साथमा छन्, तर हराएका आफ्ना मान्छेको खबरको प्रतीक्षा भने अझै उस्तै छ ।
“भोटेकोशीको बाढीले मेरो जीवनका सबै खुसी खोस्यो,” सरिता भन्छिन्, “अब त उनीहरूको अनुहार सम्झेर बस्नुबाहेक मसँग केही बाँकी छैन ।”