© 2026
मुस्ताङ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी, पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवा बाढीपछि पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौमा २९ हजार २७४ पर्यटक घटेको देखिन्छ । यो अघिल्लो महिनाको तुलनामा भदौमा ४७।७८ प्रतिशत पर्यटक कम हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा प्रहरी चौकी घाँसाको पर्यटक आगमन विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।
त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६।१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ अर्थात् ५२।०५ प्रतिशतले घटेका छन् ।
तर, आन्तरिक र सार्क राष्ट्रका पर्यटकको सङ्ख्या घटे पनि अन्य राष्ट्रका पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा १५५ जना थपिँदै ३४८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले बताए ।
मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।
प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने बताए ।
गत आव २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकको सङ्ख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्याङ्कले देखाएको छ ।