© 2026
बुटवल । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्रयाक खुलेको लामो समय भइसक्दा पनि अधिकांश खण्डमा यात्रुले स्तरीय सडक सुविधा पाउन सकेका छैनन् ।
तराईलाई पहाड हुँदै बागलुङको ढोरपाटनसँग जोड्ने राष्ट्रिय महत्वको यो सडकमा ट्रयाक खोल्ने काम पूरा भए पनि विस्तार, ग्राभेल, कालोपत्रे तथा पुल निर्माणको काम अझै विभिन्न चरणमा जारी छ ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना कार्यालयले कुल १९७ किलोमिटर लामो सडकमा हालसम्म ४६.५ किलोमिटर मात्र कालोपत्रे भएको जनाएको छ । पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् भने विभिन्न खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।
आयोजना प्रमुख इन्जिनियर गङ्गालबहादुर भण्डारीका अनुसार पर्याप्त बजेट नहुँदा निर्माण कार्यलाई अपेक्षित गतिमा अघि बढाउन कठिनाइ भइरहेको छ । उनले आवश्यक बजेट उपलब्ध नहुँदा निर्माण अवधि लम्बिँदै जाँदा लागतसमेत बढिरहेको बताए ।
आयोजनाको प्रारम्भिक लागत करिब १० अर्ब रुपियाँ अनुमान गरिएकामा अहिले बढेर १३ अर्ब रुपियाँ पुगेको छ । सडक निर्माण पूरा गर्न अझै सात अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्ने आयोजना कार्यालयको अनुमान छ ।
हाल सात वटा ठेक्कामार्फत निर्माण भइरहेको आयोजनामा केही ठेक्का भने अपेक्षित प्रगति नहुँदा समस्यामा परेका छन् । रूपन्देहीको कञ्चन खोलादेखि पाल्पाको खुर्सानेसम्मको १३ किलोमिटर खण्ड निर्माणको जिम्मा पाएको रमण–ओमबब जेभीको ठेक्का पटक–पटक ताकेता गर्दा पनि प्रगति नभएपछि रद्द गरिएको छ ।
पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौटीसम्मको २२ किलोमिटर खण्डमा कालोपत्रको काम भइरहेको छ । सन्धिखर्कको माटेदेखि भण्डारसम्मको सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ । गुल्मीमा पुर्कोट–अर्खबाङ, सिमलटेरी–गर्जुरा तथा पुर्कोट–सिमलटेरी खण्ड निर्माणाधीन छन् ।
बागलुङको फलेटेखोर–देउराली खण्डमा कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ भने त्यसपछिको करिब २२ किलोमिटर खण्डमा ग्राभेल भइरहेको छ ।
आयोजनामा चालु आर्थिक वर्ष २०८३ / ८४ का लागि ३५ करोड रुपियाँ विनियोजन भएको छ । आयोजना प्रमुख भण्डारीले बहुवर्षीय ठेक्का प्रणालीअनुसार बजेटको चार गुणासम्म ठेक्का लगाउन सकिने भए पनि स्रोतको सीमितताले नयाँ काम अघि बढाउन चुनौती रहेको बताए ।
यसैबिच आयोजनाले स्रोत सुनिश्चित भएको १० करोड रुपियाँबाट अर्घाखाँची र बागलुङमा नयाँ काम अघि बढाउन साउनमै दुई छुट्टाछुट्टै ठेक्काको सूचना प्रकाशित गरिसकेको छ । आयोजना कार्यालयका अनुसार नयाँ ठेक्काबाट थप सडक खण्ड स्तरोन्नतिको काम अघि बढाइनेछ ।
आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि सडकको ठूलो हिस्सा कालोपत्रे हुन नसकेका कारण सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकबाट सहज यातायात सेवा पाउने स्थानीयको अपेक्षा अझै पूरा हुन सकेको छैन । हालको बजेट विनियोजन र निर्माणको गतिलाई हेर्दा आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने आयोजनाको अनुमान छ ।