Butwal Today

११ फरार प्रतिवादीसहित ३७ जना पक्राउ

४ आश्विन २०८३, आइतबार
अ+
अ-

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले चालु तथा पेन्डिङ मुद्दाको अनुसन्धानका क्रममा २६ जना र अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका ११ जना प्रतिवादीलाई भदौ महिनामा पक्राउ गरेको हो ।
आर्थिक वर्ष २०८३ /८४ को भदौ महिनामा सम्पादन भएका कार्यप्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा १८ वटा नयाँ मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका मुद्दामध्ये ६ वटा जघन्य तथा गम्भीर अपराध, एक वटा आर्थिक अपराध, दुई वटा सामाजिक अपराध र नौ वटा अन्य प्रकृतिका रहेका छन् ।

प्रहरीका अनुसार भदौ महिनामा चालु र पेन्डिङ गरी १० वटा मुद्दा फछ्र्यौट भएका छन् । चालुतर्फ तीन वटा जघन्य, एउटा गम्भीर र चार वटा सामान्य प्रकृतिका तथा पेन्डिङतर्फ एक÷एक वटा जघन्य र गम्भीर प्रकृतिका मुद्दा फछ्र्यौट गरिएको हो । चालु तथा पेन्डिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका २६ जनामध्ये जघन्य अपराधतर्फ १२ जना, गम्भीर अपराधतर्फ एक जना र सामान्य प्रकृतिका मुद्दामा १३ जना रहेका छन् ।

सवारी ज्यान मुद्दाका दुई जना अभियुक्त भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार भदौमा पक्राउ परेका ११ जना फरार प्रतिवादीबाट दुई वर्ष एक महिना चार दिन कैद भुक्तान हुनुपर्ने तथा तीन लाख ७४ हजार रूपैयाँ जरिवाना असुल गर्नुपर्ने अवस्था रहेको थियो ।

१५ सवारी दुर्घटना, ६ जनाको मृत्यु

भदौ महिनामा सल्यानमा १५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । सडक सुरक्षा मजबुत बनाउन प्रहरीले गरेको नियमित चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने २१८ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

कारबाहीबाट दुई लाख दुई हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चार वटा टिप्पर र तीन वटा ट्याक्टर गरी सात वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?