© 2026
कुरा महाभारतकालीन हस्तिनापुरको हो । गुरु द्रोणाचार्यको नेतृत्वमा राजदरबारमा गुरुकुल चलेको थियो । कुलगुरु कृपाचार्य र द्रोणाचार्यले राजकुमार राजकुमारीहरूलाई पठनपाठन गर्थे ।
द्रोणाचार्यले युद्धकलाको बारेमा अभ्यास गराउनुहुन्थ्यो । गुरुले पढाउँदा उच्च एकाग्रताका साथ सिक्ने शिष्यमध्ये अर्जुनको नाम अगाडि आउँथ्यो । निशाना साध्ने काममा अर्जुनको दृष्टि यति तीक्ष्ण थियो कि उनले ताकेको निशाना सितिमिति फिको जाँदैनथ्यो । उनको यही क्षमताबाट नै अर्जुन दृष्टि भन्ने उक्ति नै बन्यो । तर यसका लागि अर्जुनको मेहनत र लगाव कस्तो थियो ? आउनोस् यस बारेमा कुरा बुझौँ । गुरुले दिएको अभ्यास अर्थात् गृहकार्य अर्जुनले निकै मेहनतका साथ गर्ने गर्थे ।
एकदिन अर्जुनलाई लाग्यो– अहिले मैले दायाँ हातले ताँदो चलाइरहेको छु । कुनैदिन मेरो दायाँ हातको बुढी औँला र चोर औँला विरामी होलान् । अनि त्यो बेला म आफू शक्तिशाली भैकन पनि अशक्त जस्तै बन्नुपर्ने स्थिति होला ! यही कुरा सोचेर अर्जुनले दुवै हातले धनुष चलाउने अभ्यास गरे । अनि त अविश्रान्त रूपले दुवै हातले ५००–५०० बाण हान्न सक्ने भए । कसैले सङ्केतसम्म नदिई आफै यसरी आफ्नो अभ्यासलाई तिखार्न सक्ने प्रत्युत्पन्न मतिका व्यक्ति थिए अर्जुन ।
अर्जुन मनमनै गुन्थे, गुरुले सिकाउनु त मार्गदर्शन मात्रै हो । अभ्यास साधना त शिष्य आफैले गर्नुपर्छ । सबै सिकाइ प्रक्रिया दिनमा हुन्थ्यो । त्यसैले दिनको उज्यालोमा लक्ष्य अर्थात् निशाना हेर्नका लागि कुनै समस्या थिएन ।
अर्जुनलाई लाग्यो कि कुनै अवस्था यस्तो आउला, अँध्यारोमा पनि लड्नुपर्ला ! अनि कुनै बेला यस्तो अवस्था आउला अगाडि, पछाडि, दायाँ, बायाँ लगातार प्रहार गर्नुपर्ला, अनुमानका भरमा पनि बाण चलाउनुपर्ला । यो सोचले अर्जुनलाई निकै उद्वेलित तुल्यायो । अर्जुन निकै सोचमग्न बने ।
साँझको खाना खाएर अरू सबै विश्रामतिर लाग्थे । अर्जुनचाहिँ धनुषबाण लिएर एकान्ततिर लाग्थे । पहिले अँध्यारोमा निशाना साध्ने अभ्यास गरे । जब यस कुरामा अभ्यस्त भए अनि त्यही निशाना साधन गर्ने काम पछाडिबाट बाण हानेर गर्न लागे ।
अर्थात् निशानालाई हेर्दै नहेरी । एक दिन मध्यरातमा अचानक गुरु द्रोणाचार्यको निद्रा खुल्यो । त्यसै बेला ठ्वाक ठ्वाक ठ्वाक आवाज एकनासले गुरुको कानमा परिरह्यो । यो मध्यरातमा कुनै सुरक्षासम्बन्धी समस्या त होइन ? गुरुलाई चासो प¥यो । अनि विस्तारै आवाजलाई पछ्याउँदै जाँदा निस्पट्ट अँध्यारोमा अर्जुनलाई देखे । अनि अचम्म पर्दै गुरु द्रोणाचार्यले अर्जुनलाई सोधे– बाबु अर्जुन ! यो अँध्यारो अनि मध्यरातमा तिमी के गरिरहेका छौ ?
अर्जुनले विनित हुँदै भने– क्षमा पाउँ गुरुदेव ! म बाणको निशाना साध्ने अभ्यासमा छु । द्रोणाचार्य– तिमीलाई निशाना साध्न समस्या भए जस्तो त देख्दिनँ । अनि यो रातीमा ? म अलि अलमलिएँ नि । अर्जुन– गुरुदेव ! आज हामी दिउँसोमा मात्र युद्धकलाको अभ्यास गरिरहेका छौँ । के भन्न सकिन्छ, भोलिका दिनमा रातमा पनि गर्ने अवस्था आओस् ।
द्रोणाचार्य– अनि ?
अर्जुन– अनि गुरुदेव ! आज हामी आफ्नो अगाडि मात्रै निशाना साध्ने अभ्यास गरिरहेका छौँ । तर के भन्न सकिन्छ र कुनै बेला शत्रुका घेरामा परेर अगाडि, पछाडि, दायाँ, बायाँ एकै साथ प्रहार गर्न प¥यो भने ?
द्रोणाचार्य– के तिमीले अँध्यारोमा र पछाडि पनि निशाना लगाउने अभ्यास गरिरहेका छौ ?
अर्जुन– हजुर गुरुदेव ।
द्रोणाचार्य– के मलाई देखाउन सक्छौ ?
अर्जुन– आज्ञा शिरोपर गुरुदेव !
द्रोणाचार्य–(निशाना लगाउने लक्ष्य तय गर्दै) लौ लक्ष्य भेदन गर त ।
निशानाको एक बित्ता पर गुरुदेव द्रोणाचार्य टक्क उभिएर निशाना साध्न भनेका थिए । निशाना एक बित्ता यताउता हुँदा गुरु हत्या जस्तो जघन्य अपराधको जोखिम छ । तर अर्जुनले श्रद्धेय गुरुको स्मरण गर्दै पालैपालो दुवै हातले धनुष चलाएर लक्ष्य भेदन गरे । यो अद्भूत कला देखेर गुरु द्रोणाचार्यले प्यारो शिष्य अर्जुनलाई अङ्कमाल गर्दै भने– बाबु अर्जुन ! तिमीले त दुवै हातले पो धनुष चलाउने रहेछौ !
अर्जुन– हजुर गुरुदेव !
द्रोणाचार्य– यस्तो त मैले कहिल्यै पनि सिकाइनँ ।
अर्जुन– गुरुदेव ! हजुरले जब चक्रब्यूह रचना र त्यसको भेदन अनि फर्केर आउँदाको जोखिमका कुरा आज्ञा भएको थियो नि ! त्यसै बेला नै अव्यक्त रूपमा व्यक्त गर्नुभएको थियो । किनकि गुरुदेवका तीन प्रकारका भाषा हुन्छन् । मनको भाषा, आँखाको भाषा र बोलीको भाषा । यो थियो गुरुदेवको मनको भाषा ।
द्रोणाचार्य– आहा धन्य धन्य । यसलाई केही व्याख्या गर्न सक्छौ ?
अर्जुन– जो आज्ञा गुरुदेव ! त्यस बेला हजुरले भन्नुभएको थियो कि लगातार ५०० बाण हानिसकेपछि केही फरक चाल चल्नुपर्छ । यो चालले हातलाई क्षणभरको विश्राम मिल्छ । यसै बेला मैले बुझेँ यदि मैले अर्को हातलाई पनि उत्तिकै तालिम दिएँ भने त यो विश्राम लिने समस्या नै नरहने भयो ।
द्रोणाचार्य– क्याबात बाबु ! अनि यो रातको अभ्यास कति बेरसम्म गर्ने गरेका छौ नि ?
अर्जुन– हजुर गुरुदेव ! कहिले आँटेको लक्ष्य चाँडै पूरा हुन्छ र चाँडै सुत्न जान्छु । कहिलेकाहीँ त छ्याङ्ङै उज्यालो पनि हुने गर्छ ।
द्रोणाचार्य– मेरो प्रिय शिष्य अर्जुन ! मैले आजदेखि तिमीलाई थप दुईवटा नाम दिएँ । एउटा सव्यसाची र अर्को गुडाकेश ।
अर्जुन– गुरुदेव ! मलाई यी दुवै नामको अर्थ बुझ्न गाह्रो भयो ।
द्रोणाचार्य– बाबु अर्जुन ! शिष्यको हृदयको सन्ताप हर्न त गुरु आइहाल्छ नि ! दुवै हातले धनुष चलाउनेको अर्थ हो सव्यसाची । यसको अर्थ हो देब्रे हातले पनि ताँदो चलाउने, ताँदो चढाउने पनि । अनि निद्राजितको अर्थ हो गुडाकेश ।
अखण्डानन्द बोधाय शिष्य हृत्ताप हारिणे ।
सच्चितानन्द रूपाय तस्मै श्री गुरवे नमः ।। भन्दै अर्जुन गुरुका चरणमा परे ।
द्रोणाचार्य– (अर्जुनलाई उठाउँदै) बाबु अर्जुन ! मैले तिमीलाई यो मध्यरातमा के गर्दैछौ अर्जुन ? भन्दा किन क्षमा पाउँ भनेका थियौ नि ?
मन्द मुस्कानसित अर्जुन भन्छन्– गुरुदेव ! हाम्रो गुरुकुलमा दश घडी रात बितेपछि सुत्नुपर्ने नियम छ । यही नियम तोडिएका कारण मैले हजुरसित क्षमा याचना गरेको हुँ गुरुदेव !
तब गुरु द्रोणाचार्य भन्छन्– बाबु अर्जुन ! विद्यार्थी तथा साधकका साधनाका लागि विद्यालय तथा गुरुकुलको नियम कहिल्यै बाधक हुँदैन । साधक कालजयी हुन्छ । त्यस्ता औँलामा गन्ने साधकले त काललाई पनि खुम्च्याउने तन्काउने गर्न सक्छन् ।
अर्जुन– गुरुदेव ! क्षमा पाउँ । मैले त यो प्रसङ्ग पनि पटक्कै बुझिनँ ।
द्रोणाचार्य– अर्जुन बाबु ! सूर्य नारायण उदाउनु अस्ताउनुले सामान्य जीवको समय मापनको विधि जनाउँछ । तर अन्तर हृदयमा सूर्य नारायण उदाएका योगी साधक, सङ्कल्पवृत्तिका व्यक्तिका लागि समय खुम्चिने फैलिने गर्छ । अर्जुन– गुरुदेव ! म त दुर्बोधको गर्तमा गाडिएँ । समय खुम्चिने र फैलिने भन्ने कुरा त अझै बुझिनँ ।
द्रोणाचार्य– बाबु ! मैले बुझाउने गरी भनेकै छैन । अब ध्यान दिएर सुन । वास्तवमा मान्छेको परम आयु सरदर शय सबाशय वर्षको हो । त्यसैले आशीर्वचनमा पश्येम शरद शतं जीवेम शरद शतं… भन्ने गरिन्छ । ग्रामीण क्षेत्रका पाका पुरानाले बीसासय आयु होस् भन्छन् । उनीहरूले वेदले भनेकोमा पनि बीस वर्ष थपेर एक सय बीस वर्षको आयु होउस् भन्छन् ।
अर्जुन– अनि यति हजार वर्ष तपस्या यति हजार वर्ष राज्य गरेको भनिएको हुन्छ । त्यसको अर्थ के भयो त गुरुदेव ?
द्रोणाचार्य– त्यही त कुरा गर्दै छु । एक जना सामान्य मान्छेले गर्न सक्ने कामलाई एकाइ मानी एक सशक्त कर्मयोगीको कामलाई समयमा रूपान्तरण गर्दा यस्तो अस्वाभाविक देखिन्छ । वास्तवमा जीवन कर्मले नाप्नुपर्छ । सूर्योदय सूर्यास्त गनेर होइन । कुनै कर्मयोगीले प्रतिदिन १० जना सामान्य मान्छेले जति काम गर्छ भने उसको एक वर्षको जीवन नै १० वर्षको भयो । कर्मयोगीले समयलाई यसरी नै काबुमा लिन्छन् । समयलाई खुम्च्याएको भयो कि भएन ?
अर्जुन– धन्य छ गुरुदेव ! हजुरले दिएका नाम थाम्ने सामथ्र्य ममा आओस् । श्रद्धेय गुरुदेवबाट यही आशीर्वादको आशा राख्छु ।
द्रोणाचार्य– बाबु अर्जुन ! नामका हिसाबले मान्छे ४ किसिमका हुन्छन् । पहिलो गुमनामवाला । यस्ताखालका व्यक्तिले जन्मदा दिएको नाम पनि मेटाएर गुमनाम हुन्छन् । दोस्रो प्रकारकाले दिएको नाम थामेर जीवन चलाउँछन् ।
यी नाम थाम्नेवाला मध्यम खालका हुन् । तेस्रो नाम चम्काएर जीवन चलाउनेवाला हुन्छन् । यी उत्तम खालका व्यक्ति मानिन्छन् । चौथो प्रकारका आफ्नो कर्मयोगले नाम कमाउने हुन्छन् । जसरी धन कमाउने व्यक्तिसँग धेरै धन हुन्छ त्यसै गरी नाम कमाउने व्यक्तिसँग धेरै नाम हुन्छन् । यस्ता व्यक्तिलाई समाजका सर्वोत्कृष्ट व्यक्ति मानिन्छ । लौ त समय धेरै बितिसक्यो । म आफ्नो शयन कक्षतिर लागेँ ।
अर्जुन– गुरुदेवका यस्तै आशिष बर्सिरहून् । शुभरात्री ।
अर्जुनले जसरी गुरुको मनको कुरा बुझेर आफू अभ्यासमा लागेर नाम कमाउने स्तरका व्यक्ति बने हामी पनि त्यस्तै लगनशील कर्मशील बनौँ र समाज तथा देशलाई ऐश्वर्यशाली बनाऔँ । यो सन्दर्भ विद्यालयमा रूपान्तरण हुन सके कति जाती हुन्थ्यो होला ।