© २०२३
बुटवल, २३ माघ ।
क्रिकेट खेलको ग्रास रुट र खेलको पूर्वाधार विकासमा लागेका क्रिकेटर शक्ति गौचनको अगुवाईमा देवदहमा टफ बिकेट पिच निर्माण गरिएको छ । स्थानीय क्रिकेट खेलाडीहरु खेल्दै आएको शितलनगरस्थित क्रिकेट मैदानमा करिब ४ लाख रुपैयाँ लागतमा टफ विकेट पिच तयार भएको हो ।
स्थानीय देवदह नगरपालिकाको ३ लाख रुपैयाँ र शक्ति गौचनको आफैले स्थापना गरेको खेल विकास कोषबाट ८० हजार रुपैयाँ बढी खर्च भएको उनले बताए । एक समारोहका बीच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले शुभारम्भ गर्दै खेलकुद विकासमा पालिकाबाट सहयोग गर्ने प्रतिवद्घता जनाए । विगत लामो समयदेखि क्रिकेट खेल्दै आएको सो क्षेत्रलाई आधुनिक क्रिकेट मैदानको रुपमा विकास गर्न डिपिआर तयार गरेर काम अघि बढाउने उनले बताए । पूर्वाधारमा प्रदेश र संघीय सरकारसंग समेत समन्वय गर्ने उनले बताए ।
एक महिनाको निरन्तर श्रमदानपछि पिच तयार भएको क्रिकेटर शक्ति गौचनले बताए । ‘क्रिकेट प्रतियोगिता र अभ्यासका लागि टफ विकेट पिच तयार भएको छ’–उनले भने । केन्द्रबाट ७० मिटर डायमिटर रहेको २२ यार्डको पिच र ६ विगाहा क्षेत्रफलमा मैदान फैलिएको हुदा राम्रो क्रिकेट मैदान बनाउन सकिने सम्भावना रहेको उनले बताए । ग्रास रुट लेभलको खेलाडीहरुलाई पालिकास्तरमा क्रिकेट अभ्यासका लागि पनि मैदान जरुरी रहेको उनले बताए । उपयुक्त क्रिकेट मैदानको रुपमा विकास गर्न सरकारबाट थप लगानी जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बुद्ध पब्लिकका प्रधानाध्यापक कृष्ण प्रसाद गैरे, देवदह क्रिकेट युनिटका अध्यक्ष अजय थापा, युनिटका पुर्वअध्यक्ष कमल पाण्डे, स्मृति सामुदायिक बनका अध्यक्ष भरत गुरुङले देवदहमा खेल विकासमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
प्रत्येक वर्ष क्रिकेटर गौचनले फागुनमा आफ्नो स्वर्गीय बुबाको स्मृतीमा युवा क्रिकेटरहरुलाई प्लेटफर्म दिने रुपमा क्रिकेट प्रतियोगिता गराउँदै आएका छन् ।