© 2026
कपिलवस्तु ।
कपिलवस्तु सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङका कारण सडक सुरक्षा जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापन गर्न माग गरेका छन् ।
युवा समाजसेवी रूपक बनियाको नेतृत्वमा गएको युवाहरूको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सुठौली भन्सार कार्यालय देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवा सम्मको सडक खण्डमा हुने अनियन्त्रित पार्किङ नियन्त्रण गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा सुठौली भन्सारबाट जाँच पास भई आउने तथा जाने ट्रक, टेलर र कन्टेनरलगायतका ठुला मालवाहक सवारी साधनहरू भन्सार कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय आसपास मुख्य सडककै दुवैतर्फ घण्टौँसम्म पार्किङ गर्ने गरिएको उल्लेख छ । सडकमा सवारी साधन तेर्स्याएर राख्दा सडक साँघुरो हुनुका साथै साना सवारी साधन, मोटरसाइकल तथा पैदल यात्रु दुर्घटनाको जोखिममा पर्ने गरेको जनाइएको छ । अव्यवस्थित पार्किङका कारण एम्बुलेन्स, दमकल तथा सर्वसाधारणका सवारी साधनसमेत लामो समयसम्म जाममा पर्ने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
सडक किनारमा जथाभाबी गाडी पार्किङ गर्दा स्थानीय बासिन्दालाई आवतजावत तथा दैनिक जीवनयापनमा समेत समस्या भएको उनीहरूको भनाइ छ । ज्ञापन पत्र बुझाउनेहरूले भन्सारबाट सवारी साधनको तोकिएको क्षमताभन्दा बढी भार बोकेका अर्थात् ओभर लोड भएका मालवाहक गाडीलाई जाँच पास दिने कार्य नियन्त्रण गर्न माग गरेका छन् । साथै भन्सार तथा यातायात कार्यालयमा जाँच पास प्रक्रिया छिटो र व्यवस्थित बनाई सडकमा मालवाहक सवारी साधनको लामो लाइन लाग्ने अवस्था अन्त्य गर्न आग्रह गरिएको छ ।
त्यसै गरी सुठौली भन्सार लगायत सवारी साधन रोक्नुपर्ने स्थान नजिकै छुट्टै व्यवस्थित पार्किङ स्थल वा यार्ड निर्माण तथा पहिचान गर्न, सुठौली–तौलिहवा सडक खण्डलाई पूर्ण रूपमा ‘नो पार्किङ जोन’ घोषणा गरी सडकमा सवारी साधन खडा गर्न रोक लगाउन माग गरिएको छ ।
ओभर लोडका कारण सडकमा क्षमता भन्दा बढी भार परी समय अगावै सडक जीर्ण तथा क्षतिग्रस्त हुने समस्या रहेको भन्दै प्रभावकारी अनुगमन र कारबाही गर्न पनि माग गरिएको छ । सडकमा अव्यवस्थित रूपमा राखिएका सवारी साधन तत्काल हटाउन तथा नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्न २४ घण्टा ट्राफिक प्रहरी परिचालन गर्नुपर्ने उनीहरूको माग छ ।
रातिको समयमा हुने दुर्घटना न्यूनीकरणका लागि जोखिमपूर्ण मोड तथा सडक खण्डमा हाइवे लाइट जडान गर्न र स्पष्ट देखिने ट्राफिक सङ्केत बोर्ड राख्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ । तौलिहवा बजारमा बढ्दै गएको अव्यवस्थित पार्किङ तथा फुटपाथ अतिक्रमणको समस्या समाधान गर्न पनि उनीहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्रमा उल्लेखित मागहरू तत्काल सम्बोधन नभए स्थानीय बासिन्दा तथा सर्वसाधारणको जीवन रक्षाका लागि चरणबद्ध रूपमा दबाबमूलक तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
युवा समाजसेवी रूपक बनिया, सुदीप भुसाल, गौरव उपाध्याय, राज बनिया, शिवा गुप्ता, हरिराम जयसवाल, गोरख चौधरी, मिनिष देव मिश्रा र राजेश्वर यादव लगायतले हस्ताक्षर गरेको ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, यशोधरा गाउँपालिका, सुठौली भन्सार कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका र यातायात सेवा कार्यालय तौलिहवालाई दिइएको छ ।
नागरिकको सास्ती समाधान गर्न आफूहरूले ज्ञापन पत्र दिएको युवा समाजसेवी रूपक बनियाले बताए । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले सो विषयको जानकारी उल्लेखित निकाय सँग गरि समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रजिअ गौतमले प्रतिबद्धता जनाए ।

