Butwal Today

बाबुको मुख हेर्ने दिन (कुशे औँशी) को महत्त्व

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

कुनै पनि प्राणीलाई संसार देखाउने काम उनीहरूका मातृशक्ति र पितृशक्तिबाट मात्र सम्भव हुन्छ । विना मातापिता यो संसारमा कोहीपनि जन्मन असम्भव छ । अर्थात स्त्री र पुरुषको समागमबाट सन्तानको जन्म हुन्छ । विरुवामा भने स्त्रीकेशर र पुंकेशरको मिलन हुनुपर्दछ । फूल नफुल्ने विरुवामा विजाणुस्पोरबाट नयाँ विरुवा उम्रन्छ ।

मानवका लागि बावुआमा संसार देखाउनेमात्र नभएर पालनपोषणका साथ शिक्षादीक्षा आदि सबै जिम्मेवारी निर्वाह पनि उनीहरूबाट भएको हुन्छ । सन्तानको जन्मको खुशीयालीका साथमा उनीहरू आफू भोकै रहेरपनि आफ्नो सन्तानप्रति गर्नुपर्ने जति कर्तब्य पूरा गर्न लागेका हुन्छन् ।

एउटा सन्तान हुर्काउनमा बाबु आमाको कति लगानी हुन्छ ? भन्ने कुरा सायद सन्तानले जान्न वा बुझ्न सक्दैनन् । त्यो मर्म बाबुआमालाई मात्र थाहा हुन्छ । जन्म दिनु, हुर्काउनु, पढाउनु, लेखाउनुका साथै अन्य कर्महरू सबै सम्पन्न गरिदिनु बाबुआमाको कर्तब्यभित्र पर्दछ ।

बाबुआमाले आफ्ना छोरा छोरीप्रति जुन स्नेहका साथ कर्तब्यनिर्वाह गरेका हुन्छन् त्यसको सम्झना स्वरूप छोरा छोरीले बाबुआमाप्रति पनि संस्कार सिकाउन तथा कर्तब्यमा लगाउन उत्प्रेरित गर्ने विचारले पितृ सम्मान दिवस तथा मातृ सम्मान दिवस मनाउने प्रचलन आएको हुनुपर्दछ । यी दुबै कार्य कुनै विशेष दिनमा गरिनु पर्दछ । विशेष दिनमा यस कार्यको महत्वपनि हुन्छ । त्यसै दिन सम्मान तथा सम्झना गर्नका लागि मातालाई मातृ दिवस तथा पितालाई पितृ दिवसका अवसरमा सम्मान तथा सम्झना गरिन्छ ।
पितृ दिवसको पर्वलाई कुशेऔंसी तथा कसैले गोकर्णे औशीपनि भन्ने गर्दछन । कुशे औंशीसंग कुशको सम्वन्ध जोडिएको हुन्छ । कुश उखेल्नु र घरमा संग्रह गर्नुलाई मानवजीवन र वनस्पतिको परापूर्व कालदेखि अन्योन्याश्रित सम्वन्ध रहेको छ भन्ने कुरा प्रस्ट हुन्छ । कुश नेपालमा प्रचलित एक प्रकारको वनस्पति जगतको झार हो ।

यसलाई प्रायः गाईवस्तुले खाँदैनन् । यो झार देवकार्य, पितृकार्यका साथै अन्य उत्सव र संस्कारमा उपयोगि हुन्छ । यही कुशलाई कुशे औंशीको दिनमा उखेलेर घरमा भित्र्याउने गरिन्छ । यसदिन घरमा भित्र्याइएको कुश पुरै वर्षदिन विभिन्न कार्यका निम्ति प्रयोग गरिन्छ । कुशे औंशीलाई पितृ आंैशीपनि भनिन्छ ।

पिताको सम्झना तथा सम्मान गरिने दिन भएको हुनाले पनि यसलाई पितृऔंशी भनिएको हो । कुशे औंसी भने पनि गोकर्णे औंशी भनेपनि पितृ सम्मान दिवस भने पनि एउटै दिन हो र एउटै पर्व हो । नामको मात्र फरक हो । यसै दिन पिताजी नभएका वा पिताजीको दिवंगत भएको दिन (तिथी) को सम्झना नभएकाहरूले यसै दिनमा श्राद्ध वा सम्झना गर्ने गर्दछन ।

पिता हुनेहरूले घरमा वा कुनै उपयुक्त स्थानमा पितालाई सम्मान गर्ने गर्दछन् भने आफ्ना पिता नभएका वा पिताको निधनको मिति थाहा नपाएकाहरूले पिताको सम्झनाको लागि काठमाडौको गोकर्णमा गएर श्राद्ध कर्म गर्ने भएकोले यस दिनलाई गोकर्णे औंशी भनिएको शास्त्रीय मान्यता छ ।

यसै दिन बाबु जीवित हुनेहरूले आफ्ना बाबुप्रति सम्मान भाव प्रकट गर्ने भएकाले पितृ सम्मान दिवस भनिएको पाइन्छ । यसै दिनमा पितृ सम्मान सम्वन्धि विविध कर्महरू हुने गर्दछन । त्यसकारण यस दिनलाई विभिन्ननामले पुकारिन्छ ।

कुश छेदन गर्नेहरू र संग्रह गर्नेहरूका लागि यसले बेग्लै महत्त्व राख्दछ भने पिताका नाममा गोकर्णमा गएर वा घरमै पनि पिताको सम्झना स्वरूप श्राद्धकर्म गर्नुले बेग्लै महत्त्व राख्दछ । अझ जसका पिताजी जीवित हुनुहुन्छ उहाँहरू आफ्नो पितालाई सम्मान गर्नकालागि विशेष उपहार सहित उपस्थित हुने हुनाले यस चाडको अझ महत्त्व बढेको छ भन्न सकिन्छ ।

शास्त्रमा पिताको महत्त्व दर्शाउँदै भनिएको छ –“पिताधर्मः पिता स्वर्गः पिताही परमं तप । पितरि प्रीतिमापन्ने सर्बाःप्रीयन्ति देवता ।।”अर्थात पिताधर्म हुन, पिता स्वर्ग हुन, पितातप हुन, पिता प्रशन्न भएमा समस्त देवगण आफै प्रसन्न हुन्छन् । यसदिन पिता जीवित भएका र पुत्रको मन पिताप्रति जीवित भएको खण्डमा आफू पिताभन्दा केही टाढा भएपनि हजार कार्यहरू छोडेर घरमा पुगेर पिताप्रति सम्मान प्रकट गर्दछन् ।

पिताको सम्मान गर्नु भनेको आफ्नो पनि सम्मान बढनु हो भन्ने कुरा सत्जन छोराहरूले जान्दछन् । उनीहरू पिताको आज्ञापालक पनि हुन्छन् । जसको मनमा हरि हुँदैन वास्तवमा उनीहरू पिताका लागि अपुतालीका बार मात्र हुन् । जसले पिताप्रति सत्कर्मले सम्मान गर्न जान्दैनन् उनीहरूका लागि पिता भनेको नागरिकतामा नाम राख्नका लागि र कसैले पिताको नाम सोधेमा कष्टका साथ नाम भन्नकालागि मात्र काम लाग्दछ । कतै यस्तो पनि पाइन्छ । सबै सबैका पुत्रहरूमा हरि हुँदैन ।

जस्तो भनिएको छ –“शैले शैले नमाणिक्यं मौक्तिकं न गजे गजे । साधवो न हि सर्वत्र चन्दनं न वने वने ।।” सबै पहाडमा मणिमाणिक्य हुँदैन, सबै हात्तीमा मति हुँदैन, यसैगरी सबै स्थानमा साधक (योग साधना गर्ने वाज्ञानले पूर्ण भएको ब्यक्ति) हुँदैनन् र सबै वनमा चन्दन हुँदैन । त्यस्तै हो पुत्रको ज्ञानपनि । सबैका पुत्रहरू मति भएक ावा सुमतिका हुँदैनन् ।

सुमति नहुनेहरूका लागि यो दिवसको कुनै अर्थ हुँदैन । पिताको अर्थ पालक वा संरक्षक हो । जसले आफ्ना सन्तानको पालनपोषण र संरक्षण गर्दछन्, तिनैलाई पिता भनिएको छ । आफ्नो पालक, संरक्षक वा हित चाहनेका लागि एकदिन पनि सम्मान भाव ब्यक्त गर्न नसक्ने छोरालाई के सन्तान भन्नु ? जस्तो नीति शास्त्रमा भनिएको छः– “क्रोथ पुत्रेणनजातेन योन विद्वाननभक्तिमानकिंतयाक्रियेते धेन्वा यान सुते नदुग्दधा ।।” भावार्थ छोरो जन्मिएर न असल हुन सक्यो न विद्वान हुन सक्यो न भक्तिमान हुन सक्यो, त्यसको के काम ? जस्तो गाई पालिएको छ, न ब्याउँछ न दुध दिन्छ ।

थारो गाई र मनमा भक्ति नभएको छोरो एकै हो भनिएको छ । पिताप्रति भक्तिभाव नभएको छोरोलाई कुशे औशीले के ग¥यो मातृ औशीले के ग¥यो ? कौवालाई बेल पाकेर न हर्ष हुन्छ न विष्मात हुन्छ । त्यस्तै हो भक्तिहिन छोराका लागि पितृसम्मान दिवस । जसले आफ्ना पिताप्रति मनमा सकारात्मक धारणा राख्न सकेका छैनन् उनीपनि जीवनलाई बदल्न सक्छन् ।

आफुलाई सुमार्गमा लैजान सक्छन् । यो दिन विगतका दिनको कल्मस मेटाएर सत्संगमा लाग्न प्रेरित गर्ने दिन हो । यसको महत्त्व नबुझेकाहरूलाई बुझाउनु बुझेकाहरूको परम कर्तब्य हो । “बचनं किं दरिद्रम” भनिन्छ । यसकारण कुशे औशीको महत्वलाई दीर्घकालसम्म कायम राख्नका लागि यसलाई जुनसुकै नामले चिन्न वा चिनाउन सके पनि यसको वास्तविक मर्मको वारेमा बुझ्न र बुझाउन जरुरी छ ।

पितृ सम्मान दिवसले एकातिर हाम्रो धर्म तथा संस्कृति जीवन्त रहन्छ भने अर्कोतर्फ कर्तव्यपरायण पुत्र वा पुत्रीको रूपमा आफूले भूमिका निर्वाह गरेको ठहर्छ । पिताको महिमा भनेर वा गाएर कहिल्यै सकिदैन । आफ्नै पिताप्रति सकारात्मक सोंच राख्न नसक्ने पाखण्ड छोराले के दुनियाँको भलो गर्न सक्लान् ! ? किनकी मातापिताको सम्मान जस्तो धर्म अर्को कुनै धर्म छैन भन्ने कुरा हाम्रा शास्त्रले बोलेका छन् ।

बृद्ध मातापितालाई वृद्धाश्रममा राखेर आफू सभ्य बन्छु भन्ने सोंचाई ढोंग मात्र हो, पाखण्डी सोंचाई हो । यसलाई निरुत्साहित गर्नका लागि पनि पितृ सम्मान दिवसको आवश्यकता छ । यस पटकको पितृ दिवस तथा कुशे औशी पर्व यही भाद्र २६ गते अर्थात आज शुक्रबारका दिन परेको छ । यस अवसरमा यो पर्वमा रमाउने सबैमा हार्दिक मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?