Butwal Today

रूपन्देहीमा रात्रिकालीन बजार सञ्चालनको तयारी, मापदण्ड पूरा गरेका व्यवसायलाई अनुमति दिइने

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

सिद्धार्थनगर । रूपन्देहीमा रात्रिकालीन बजारलाई व्यवस्थित र चलायमान बनाउने पहल सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीको समन्वयमा भैरहवामा भएको सरोकारवालाको छलफलले पर्यटन तथा व्यवसाय प्रवद्र्धनका लागि जिल्लाका प्रमुख बजार क्षेत्रलाई रात्रिकालीन गतिविधिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको हो ।

छलफलमा पर्यटकीय तथा व्यावसायिक हबका रूपमा विकास भइरहेका भैरहवा, बुटवल र मणिग्रामलगायतका क्षेत्रलाई व्यवस्थित रूपमा रातिसम्म सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । गृह मन्त्रालयले जारी गरेको रात्रिकालीन बजार सञ्चालनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेका व्यावसायिक प्रतिष्ठानलाई तत्काल अनुमति दिने निर्णयसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै होटल एसोसिएसन संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि नेपालमा पनि अन्य मुलुकमा जस्तै व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने स्थायी नीति आवश्यक रहेको बताए ।

रात्रिकालीन अर्थतन्त्रलाई पर्यटनसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले स्थानीय तह, प्रशासन र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । स्पा व्यवसाय पनि पर्यटन तथा ‘वेलनेस’ क्षेत्रको महत्वपूर्ण हिस्सा भएकाले कानुनी मापदण्डभित्र रहेर सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ थियो ।

बिना मापदण्ड सञ्चालन हुने गतिविधि तथा पटक–पटक हुने प्रहरी छापाका कारण व्यवसायी र पर्यटकमा नकारात्मक सन्देश जानेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले राजमार्ग चौराहा, हस्पिटल लाइन, कालिका पथ र ट्राफिक चोकलाई पूर्ण रात्रिकालीन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । अन्य क्षेत्रमा भने राति ११ बजेसम्म बजार सञ्चालन गर्ने वातावरण बनाउन उनले प्रशासनसँग आग्रह गरे ।

रात्रिकालीन बजारलाई होटल तथा रेस्टुरेन्टमा मात्र सीमित गरेर बुझ्न नहुने बताउँदै पाण्डेले राति विभिन्न जिल्लाबाट सामान खरिद गर्न आउने व्यवसायी तथा उपभोक्तालाई लक्षित गर्दै आवश्यकताअनुसार होलसेल बजारसमेत सञ्चालन गर्नुपर्ने बताए ।

रात्रिकालीन व्यवसायको समय व्यवस्थापन सुरक्षा र सामाजिक व्यवहारसँग पनि जोडिनुपर्ने उनको भनाइ थियो । राति २ बजे व्यवसाय बन्द गराएर ग्राहकलाई तत्काल घर फर्काउनेभन्दा सुरक्षित व्यवस्थापनसहित बिहानतिर मात्र आवागमन हुने वातावरण बनाउन सके झैझगडा न्यूनीकरणमा समेत सहयोग पुग्ने उनले बताए ।

बैंकक तथा भारतका विभिन्न सहरमा रातिसम्म सञ्चालन हुने बजारको उदाहरण दिँदै पाण्डेले रात्रिकालीन बजारले स्थानीय अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगर क्षेत्रका सबै बजारलाई राति १ बजेसम्म खुला राख्ने गरी नगरपालिका अघि बढ्ने बताए । त्यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उनले प्रशासनसँग आग्रह गरे ।

तिलोत्तमामा निर्माण गरिएको म्युजिकल वाटर फाउन्टेनलगायत पर्यटकीय संरचनाको प्रभावकारी उपयोगका लागि रातिको समय महत्वपूर्ण हुने उनको भनाइ थियो । रातिमा मात्रै आकर्षक देखिने यस्ता संरचना साँझपख बन्द गर्दा लगानीको उचित प्रतिफल लिन नसकिने भन्दै उनले पर्यटकीय पूर्वाधार र रात्रिकालीन बजारलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए ।

रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार, प्रशासन र व्यवसायीले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बहन गर्नुपर्नेमा उनले जोड दिए । साथै, भारतीय सवारीसाधनसम्बन्धी विद्यमान नियम र त्यसले पर्यटनमा पारेको प्रभावबारे पुनर्विचार आवश्यक रहेको उनले बताए ।

यसैगरी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भैरहवालाई पर्यटकीय नगरीका रूपमा विकास गर्न भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न र यहाँ खर्च गर्न सहज वातावरण बनाउनुपर्ने बताए ।

भारत र चीन पर्यटन खर्च गर्ने ठूलो बजार भएकाले भारतीय पर्यटकलाई सीमा क्षेत्रमा अनावश्यक झन्झट नदिई नेपालमा खर्च गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । भारतीय सवारीसाधनलाई नेपालमा बस्न दिइने समयसीमा र सीमा प्रक्रियामा देखिएका समस्या समाधान गर्नुपर्ने उनले बताए ।

भारतीय पर्यटकले नेपालमा ठूलो रकम खर्च गर्न सक्ने सम्भावना हुँदाहुँदै साना–साना प्रक्रियागत झन्झटका कारण उनीहरू निरुत्साहित हुने गरेको उनले बताए ।

छलफलमा भारतीय रुपैयाँका ५०० दरका नोट नेपाल ल्याउनेसम्बन्धी व्यवस्थाले व्यवहारमा पर्यटकलाई समस्या पारेको विषयसमेत उठाइएको थियो ।

सरकारले निश्चित सीमासम्म ५०० दरका भारतीय नोट ल्याउन पाउने व्यवस्था गरे पनि व्यवहारमा पर्यटकको रकम जफत हुने तथा कारबाहीका घटनाले नेपालप्रति नकारात्मक धारणा बन्न सक्ने सहभागीहरूले बताएका थिए । नियमलाई स्पष्ट र व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

भारतीय सवारीसाधन नेपालमा ३० दिन बसेपछि पुनः प्रवेशका क्रममा देखिने प्रक्रिया तथा अनलाइन प्रणालीका कारण भारतीय ट्राभल एजेन्सीहरूले नेपाल भ्रमण रद्द गर्न थालेको सहभागीहरूले बताएका थिए ।

यसको प्रत्यक्ष प्रभाव लुम्बिनी र रूपन्देहीको पर्यटकीय आवागमनमा परेको उनीहरूको भनाइ थियो । भारतीय पर्यटकका लागि सवारीसाधनसम्बन्धी व्यवस्था सहज र दीर्घकालीन बनाउन सरकारको ध्यान जानुपर्ने माग गरिएको छ ।

छलफलमा नेपालमा वार्षिक करिब ११ लाख ५८ हजार पर्यटक आउने गरेको उल्लेख गर्दै पर्यटनको पर्याप्त सम्भावना भएका मुलुकको तुलनामा नेपालले अझै ठूलो संख्यामा पर्यटक आकर्षित गर्न नसकेको विषय उठाइएको थियो ।

थाइल्यान्ड, कम्बोडिया र सिंगापुरजस्ता मुलुकमा करोडौँ पर्यटक पुग्ने गरेको उदाहरण दिँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा मात्रै कम्तीमा एक करोड पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

यसका लागि स्थानीय सरकार, व्यवसायी, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच एकीकृत योजना तथा प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष छलफलले निकालेको छ ।

रूपन्देहीका प्रहरी प्रमुख जनक शाहीले रात्रिकालीन बजार सञ्चालनसँगै जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने तयारी भइरहेको बताए ।

उनका अनुसार प्रहरीले स्मार्ट कन्ट्रोल रुम स्थापना गरी असोजको पहिलो सातादेखि आधुनिक सुरक्षा उपकरणसहितका सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा बुटवलदेखि तिलोत्तमासम्म चार र तिलोत्तमादेखि बेलहिया नाकासम्म चार गरी आठवटा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

यी सवारीसाधन २४ सै घण्टा कन्ट्रोल रुमसँग जीपीएसमार्फत जोडिनेछन् । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा फोन गरेपछि फोन गर्ने व्यक्तिको लोकेसनसमेत कन्ट्रोल रुममा पहिचान हुने र नजिकै रहेको प्रहरी सवारीसाधनलाई तत्काल घटनास्थलमा पठाउने प्रणाली विकास गर्न लागिएको शाहीले जानकारी दिए ।

पछिल्लो समय रूपन्देहीको सुरक्षा अवस्था तथा विगतमा भएका घटनाको समीक्षा गर्दै नयाँ सुरक्षा अवधारणा अघि सारिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको संयोजकत्वमा करिब अढाई घण्टासम्म चलेको छलफलमा रात्रिकालीन बजार सञ्चालनको आवश्यकता, सम्भावित फाइदा, चुनौती तथा सुरक्षा व्यवस्थापनका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।

छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

सरोकारवालाहरूले रात्रिकालीन बजारलाई केवल मनोरञ्जनको विषयका रूपमा नभई पर्यटन, रोजगारी, व्यापार, स्थानीय उत्पादनको बजारीकरण तथा राजस्व वृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन् । रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सुरक्षा, मापदण्ड र स्थानीय आवश्यकता स्पष्ट गर्दै चरणबद्ध रूपमा क्षेत्र निर्धारण गर्नुपर्नेमा पनि सहभागीहरू सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?