Butwal Today

कपिलवस्तुका सुमित फेस अफ नेपाल–२०२६ का ‘मिस्टर पपुलर’

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाका सुमित ठाकुरले आफ्नो पहिलो मोडलिङ यात्रामै ‘फेस अफ नेपाल–२०२६’ को ‘मिस्टर पपुलर’ उपाधि जित्न सफल भएका छन् ।

एमएस प्रोडक्सनद्वारा ललितपुरमा आयोजित ‘फेस अफ नेपाल–२०२६’ को अन्तिम प्रतिस्पर्धामा ठाकुरले ‘मिस्टर पपुलर’को उपाधि हात पारेका हुन् । प्रतियोगिताको अन्तिम चरणमा ८ जना महिला र ११ जना पुरुष गरी १९ जना प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा प्रतियोगी नम्बर ८ का रूपमा सहभागी ठाकुरका लागि ‘फेस अफ नेपाल’ मोडलिङ क्षेत्रमा पहिलो औपचारिक अनुभव थियो । पहिलोपटक मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनले प्रतियोगिताका विभिन्न चरण, मञ्चीय प्रस्तुति, पहिरन तथा शैली प्रस्तुतिका क्रममा आफ्नो आत्मविश्वास, व्यक्तित्व र मञ्चीय क्षमता प्रदर्शन गरेका थिए ।

पहिलो प्रयासमै दर्शकको रोजाइमा पर्दै ‘मिस्टर पपुलर’को उपाधि जित्न सफल भएपछि ठाकुरले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई विश्वास गर्ने दर्शक तथा शुभचिन्तकहरूको माया र समर्थनको परिणामका रूपमा लिएको बताए ।

“यो मेरो मोडलिङको पहिलो यात्रा थियो । पहिलोपटक नै यति धेरै माया, विश्वास र साथ पाउनु मेरो लागि निकै विशेष कुरा हो । ‘मिस्टर पपुलर’को यो उपाधि मेरो मात्र होइन, मलाई विश्वास गर्ने सम्पूर्ण मानिसहरूको हो,” ठाकुरले भने ।

तौलिहवाबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका ठाकुरले आगामी दिनमा यस क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउने लक्ष्य लिएका छन् । उनले व्यावसायिक मोडलिङसँगै विज्ञापन, ब्रान्ड प्रवद्र्धन, फेसन फोटोग्राफी, मञ्चीय प्रस्तुति तथा मनोरञ्जन क्षेत्रका विभिन्न गतिविधिमा काम गर्ने योजना बनाएका छन् ।

कपिलवस्तुबाट राष्ट्रियस्तरको मोडलिङ क्षेत्रमा प्रवेश गरेका ठाकुरको उपलब्धिले जिल्लाका युवाहरूमा समेत यस क्षेत्रमा नयाँ सम्भावनाको सन्देश दिएको छ ।

छोराले पहिलो प्रयासमै ‘मिस्टर पपुलर’को उपाधि जित्न सफल भएकोमा खुसी लागेको मानव अधिकारका क्षेत्रमा क्रियाशील सुमितका बुवा रवि ठाकुरले बताए । आगामी दिनमा छोराले व्यावसायिक रूपमै मोडलिङ क्षेत्रमा चर्चा कमाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?