Butwal Today

दुःखको बेला पनि चलचित्रको आशा

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

मुलुक विगत १५ दिनदेखि भोटेकोशी बाढीले पु¥याएको अकल्पनीय क्षतिको दुःखमा छ । देश रोएको अवस्था छ । मुलुक पुरानै अवस्थामा फर्किन अव बर्षौ लाग्ने निश्चित छ । प्रभावित क्षेत्रको पूर्वाधार ध्वस्त छ ।

मुलुकको यो गम्भीर अवस्थामा नेपाली चलचित्र क्षेत्रले थोरै भए पनि आशाको दियो बाल्ने काम गरेको छ । पछिल्लो समय निर्माण भएका चलचित्रले राम्रो व्यावसायिक सफलता प्राप्त गरेका छन् । पछिल्लो पटक चलचित्र ‘गौँथली’ ले प्रदर्शनको केही सातामै २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्ट अनुसार ‘गौँथली’ २५ करोड बढीको ग्रस कलेक्सन गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र यो अवधिसम्म ९ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन् । योसँगै ‘गौँथली’ नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ ।

यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’ को रेकर्ड ‘गौँथली’ ले तोडेको छ । पहिलो स्थानमा भने ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ । कबड्डी, छक्का पञ्जा, प्रेम गीत, जात्रै जात्रा, लुट, नाई नभन्नू ल, महापुरुष, बुलाकी, घर लगायतका चलचित्र हुन जसले राम्रो व्यवसायीक सफलता बटुलेका छन् । जेहोस् यो दुःखको बेलामा पनि नेपाली चलचित्र क्षेत्रले थोरै भए पनि आशाको दियो बाल्न सफल भएको छ । पछिल्लो समय नेपालमा गुणस्तरीय चलचित्र बन्न थालेका छन् ।

दर्शकले रुचाउने, दर्शकको मन छुने चलचित्रको निर्माणले थोरै भए पनि चलचित्र उद्योगले खुसी दिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालको चलचित्र इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने श्रेणीमा नाम राख्न सफल भैसकेको सर्वविदितै छ । बक्स अफिसका अनुसार नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले करिब ५० करोडको व्यापार गरेको छ । त्यसअघि बनेको ‘छक्का पञ्जा ५’ ले पनि राम्रो व्यापार गर्न सफल भएको थियो ।

नेपाली चलचित्रको इतिहासको कुरा गर्दा सबैभन्दा पहिला वि.सं. २००८ भदौ २९ गते पहिलो नेपाली भाषाको चलचित्र सत्यहरिश्चन्द्र निर्माण भएको थियो । नेपालभित्र चलचित्र निर्माण गर्ने कुनै पूर्वाधार थिएन. । तरपनि सत्य हरिशचन्द्र निर्माणले नेपालमा चलचित्र निर्माण हुन सक्छ भन्ने उदाहरण दियो । यद्यपि त्यो भारतमा निर्माण गरिएको नेपाली चलचित्र थियो । नेपालमै भने २०२१ साल असोज २२ गते आमा चलचित्र सार्वजनिक भयो ।

यो सरकारी तवरमा बनेको चलचित्र सूचना विभागले निर्माण गरेको थियो । त्यसको दुई वर्षपछि मात्र निजी क्षेत्रबाट माइतीघर बन्यो । त्यसपछि चलचित्र चलचित्र बन्ने क्रम सुरुवात भएको हो । जेहोस पछिल्लो समय नेपाली चलचित्रले सफलता पाउँदै गएका छन् । नेपाली चलचित्रले दर्शकको मन जित्न थालेका छन् । दर्शकको मनसँगै राम्रो आम्दानी पनि गर्न थालेका छन् ।

केही हदसम्म भए पनि नेपालमै रोजगारीको अवसर सिर्जनामा चलचित्र उद्योगले भूमिका खेलेको छ । नेपाली चलचित्र हप्तौँसम्म हाउसफुल हुनु हामी नेपालीका लागि गौरवकै कुरा हो । भारतीय चलचित्रको दवदवा अन्त्य गर्न अव नेपाली चलचित्र सक्षम छन् भन्ने आधार सिर्जना भएको छ । अबको दिनमा अझै राम्रो चलचित्र बन्नुपर्दछ ।

चलचित्र क्षेत्रले के देखाएको छ भने अव नेपालभित्र स्वदेशी चलचित्रको बजार बढ्दै गएको छ । विगतकै कुरा गर्ने हो भने नेपाली चलचित्रप्रति हामी नेपालीले नै हेय भावना राख्ने जमाना थियो । नेपाली चलचित्र राम्रो हुँदैन भन्दै भारतीय चलचित्र हेर्ने प्रचलन बढेकै थियो तर जमाना फेरिएको छ । अहिले नेपाली चलचित्रले बजार पाउन थालेका छन् ।

देश आज अत्यन्त सङ्कटको घडीमा छ । यस्तो परिस्थितिमा पनि नेपाली चलचित्र उद्योगले राम्रो व्यापार गरिरहेका छन् । अझै बन्नुपर्दछ– नेपाली चलचित्र । नेपालको पैसा नेपालीमै रहोस् । रोजगारी बढोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?