© 2026
बुटवल । पाल्पाको पूर्वखोला गाउँपालिकाकी मिनसरा राना (नाम परिवर्तन) २८ वर्षकी भइन् । दुई सन्तानकी आमा मिनसराको अधिकांश समय घरधन्दा, खेतीपाती र बालबच्चाको स्याहारसुसारमै बित्छ । श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन् ।
श्रीमानले विदेशबाट पठाउने पैसाले उनका दुई छोरा स्थानीय निजी विद्यालयमा पढिरहेका छन् । घरको आर्थिक अवस्था सामान्य भएकाले उनी गाउँमै गाईबस्तु पाल्ने र खेतीपाती गर्ने काम गर्छिन् ।
तर, तीन वर्षअघि उनको दैनिकी अचानक असहज बन्न थाल्यो । हिँड्न गाह्रो हुने, पिसाब गर्न समस्या हुने र शरीरभित्र कुनै भारी वस्तुले थिचेजस्तो महसुस हुन थाल्यो । सुरुमा उनले सामान्य समस्या होला भनेर वास्ता गरिनन् । केही समय घरमै बसेर सहिन् । समस्या बढ्दै गएपछि भने उनी स्थानीय स्वास्थ्य चौकी पुगिन् ।
स्वास्थ्यकर्मीले तत्काल बुटवलस्थित परिवार नियोजन सङ्घमा जान सुझाव दिए । त्यहाँ पुगेपछि मात्रै उनले आफूलाई पाठेघर खस्ने समस्या भएको थाहा पाइन् ।
‘पहिला मलाई के भएको हो भन्ने नै थाहा थिएन,’ उनी भन्छिन्, ‘स्वास्थ्य चौकी गएपछि मात्रै थप उपचारका लागि बुटवल जानुपर्छ भन्ने थाहा भयो । यहाँ आएपछि बल्ल पाठेघर खसेको रहेछ भन्ने थाहा पाएँ ।’ हाल उनले औषधीसँगै पाठेघरमा रिङ राखेकी छन् । नियमित रूपमा रिङ परिवर्तन गर्नुपर्छ । उपचारपछि अहिले उनको अवस्था सामान्य छ । समयमै उपचारमा पुगेकाले ठुलो दुःख भोग्न नपरेको उनको भनाइ छ ।
पाल्पाकै रैनादेवी छहरा गाउँपालिकाकी गोमा अधिकारी (नाम परिवर्तन) को अवस्था भने अझ पीडादायी छ । २८ वर्षीया गोमाका तीन सन्तान छन् । उनले १६ वर्षको उमेरमै प्रेम विवाह गरेकी थिइन् । कम उमेरमै विवाह, त्यसपछि घरायसी कामको बोझ र सन्तान जन्माउने क्रमले उनलाई पाठेघर खस्ने समस्यासम्म पु¥यायो ।
गोमालाई चार वर्षअघिदेखि नै समस्या थियो । तर, उनले लामो समयसम्म कसैलाई बताउन सकिनन् । गाउँघरमा यस्तो समस्या भन्न लाज लाग्ने भएकाले उनले पीडा सहेरै बसिन् । ‘दुखाइ सहिनसक्नु हुन्थ्यो । हिँड्नसमेत गाह्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर यस्तो समस्या कसरी भन्नु भन्ने लाग्थ्यो । सहन सक्दासम्म कसैलाई भनिनँ ।’
समस्या बढ्दै गएर काम गर्नसमेत नसक्ने भएपछि उनले गाउँकै एक जना दिदीलाई आफ्नो अवस्था सुनाइन् । ती दिदीले यो रोग भएकाले उपचार गर्नुपर्ने बताएपछि उनी स्वास्थ्य संस्थामा पुगिन् । उपचारका लागि पुग्दा उनको समस्या दुई चरण पार गरिसकेको रहेछ । औषधिले मात्र नपुगेपछि रिङ राख्नुप¥यो । अहिले पनि उनको उपचार जारी छ ।
‘सानैमा विवाह गरेकोमा अहिले पछुतो लाग्छ,’ उनी भन्छिन्, ‘यति धेरै कष्ट भयो । अझै पनि उपचार गर्न जाँदा डर लाग्छ ।’ पाठेघर खस्ने समस्या भोग्ने सबै महिलाको कथा भने बालविवाहसँग मात्र जोडिएको छैन । बुटवलस्थित परिवार नियोजन सङ्घमा उपचारका लागि पुगेकी सैनामैना नगरपालिकाकी अनु अर्याल (नाम परिवर्तन) शिक्षित महिला हुन् । उनले उमेर पुगेपछि विवाह गरिन् । श्रीमानसँगै विदेश गइन् र त्यहीँ सन्तान जन्माइन् ।
तर, सुत्केरी भएको केही समयमै घरायसी काममा फर्किनुपर्ने बाध्यता भयो । भारी सामान उठाउने, कपडा धुनेलगायतका काम गर्नुप¥यो । पर्याप्त आराम र स्याहार नपाएपछि अहिले उनी पाठेघर खस्ने समस्यासँग जुधिरहेकी छन् । यही समस्याका कारण उनले विदेशसमेत छाडेर नेपाल फर्किनुप¥यो ।
‘सुत्केरीमा मैले स्याहार पाइनँ,’ अर्याल भन्छिन्, ‘श्रीमान् साथमै भए पनि उहाँ काममा जानुपर्ने । आफन्तले पनि कामकै आश गर्ने । सुत्केरी भएको छोटो समयमै भारी काम गर्नुप¥यो ।’ आफूलाई पाठेघर खस्ने समस्या हुन सक्छ भन्ने जानकारीसमेत नभएको उनी बताउँछिन् ।
‘सुत्केरी अवस्थामा भारी काम नगरेको भए आज यस्तो हुँदैनथ्यो होला भन्ने पछुतो लाग्छ,’ उनी भन्छिन् । अहिले उनको पाठेघरमा रिङ राखिएको छ । औषधि प्रयोगसँगै उपचार भइरहेको छ । चिकित्सकीय सल्लाहअनुसार रिङ नियमित परिवर्तन गर्ने गरिएको उनले बताइन् ।
परिवार नियोजन संघ बुटवलका अधिकृत विष्णु गुरुङका अनुसार गर्भावस्था र प्रसवका क्रममा पेल्भिक फ्लोरका मांसपेशीमा पर्ने तनावले पाठेघरलाई सहारा दिने संरचना कमजोर बनाउन सक्छ । त्यसले पाठेघर खस्ने जोखिम बढाउँछ ।
गुरुङका अनुसार स्वास्थ्य शिविरहरूमा पाठेघर खसेका धेरै महिला भेटिने गरेका छन् । कतिपय महिलाले समस्या भन्न अप्ठ्यारो मान्ने भएकाले उपचारमा ढिलो पुग्ने गरेका छन् । ‘हामीले शिविरमा पाठेघर खसेका धेरै महिलालाई भेट्ने गरेका छौँ,’ उनले भने, ‘समस्या भन्न अप्ठ्यारो लागेर पनि कतिपय महिला उपचारमा आउन ढिलो गर्नुहुन्छ ।’
पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा पनि पाठेघर खस्ने समस्या भएका महिलाहरू भेटिने गरेको उनले बताए । उपचार सम्भव नभई शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई विभिन्न अस्पतालमा रेफर गर्ने गरिएको उनको भनाइ छ । पाठेघर खस्नु भनेको पाठेघर आफ्नो सामान्य स्थानबाट तल झर्दै योनीतर्फ आउने अवस्था हो ।
समस्या बढ्दै जाँदा पाठेघर योनीबाट बाहिरसमेत निस्कन सक्छ । यसले तल्लो पेट तथा कम्मर दुख्ने, हिँडडुलमा समस्या हुने, पिसाब तथा दिसा गर्न कठिनाइ हुनेजस्ता समस्या निम्त्याउन सक्छ ।
परिवार नियोजन संघ बुटवलका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेका अनुसार धेरै पटक गर्भधारण, प्रसवका क्रममा हुने जटिलता, रजोनिवृत्ति, मोटोपना, दीर्घकालीन खोकी तथा भारी सामान उठाउनेजस्ता कारणले पनि पाठेघर खस्ने समस्या हुन सक्छ । परिवार स्वास्थ्य क्लिनिक बुटवलमा पाठेघर खस्ने समस्याको परीक्षण तथा उपचारसँगै पाठेघरको मुखको क्यान्सर परीक्षण, प्रारम्भिक उपचार तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध छ ।
न्यौपानेका अनुसार गएको वर्ष पाठेघरको मुखको क्यान्सरको ४ हजार ८ सय ५० जनाको परीक्षण गरिएको थियो । तीमध्ये ३ सय ४८ जनामा सम्भावित समस्या देखिएको थियो । त्यस्तै, पाठेघर खस्ने समस्याको उपचारमा १२ जनालाई रिङ प्रेसरी व्यवस्थापन गरिएको उनले बताए ।
‘पाठेघर खस्ने समस्या समाधानका लागि उपचारसँगै यसबारे जानकारी दिन जरुरी छ,’ न्यौपानेले भने, ‘समस्या लुकाएर बस्नु हुँदैन । समयमै स्वास्थ्य संस्थामा गएर परीक्षण र उपचार गर्नुपर्छ ।’ नेपालका ग्रामीण क्षेत्रमा बालविवाह अझै चुनौतीका रूपमा रहेको छ । किशोरी उमेरमै विवाह हुँदा छिट्टै गर्भवती बन्ने सम्भावना बढ्छ । शरीर पूर्ण रूपमा विकसित नभएको अवस्थामा गर्भधारण र प्रसव हुँदा स्वास्थ्य जोखिमसमेत बढ्न सक्छ ।
प्रारम्भिक गर्भावस्थाले प्रसूति जटिलता, रक्तस्राव, उच्च रक्तचाप तथा समयअगावै बच्चा जन्मिने जोखिम बढाउन सक्छ । यसले आमासँगै नवजात शिशुको स्वास्थ्यमा समेत असर पार्न सक्छ । बालविवाहको असर स्वास्थ्यमा मात्र सीमित हुँदैन । यसले किशोरीको शिक्षा रोक्ने, आत्मनिर्भर बन्ने अवसर घटाउने र कम उमेरमै घरायसी जिम्मेवारीको बोझ थप्ने गर्छ । गोमा अधिकारीको अनुभव त्यसैको उदाहरण हो ।
बालविवाह अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले काम गरिरहेका छन् । कालिका स्वावलम्बन सामाजिक केन्द्र र एम्प्लिफाई चेन्जद्वारा सञ्चालित समसारा परियोजनाले पनि किशोर–किशोरीको विवाह रोक्ने, स्वास्थ्य सेवामा पहुँच बढाउने तथा परिवारलाई शिक्षा र अधिकारबारे जानकारी दिने काम गरिरहेको छ ।
परियोजना प्रमुख अभिनव चौधरीका अनुसार स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक छ । ‘बालविवाह अन्त्य र महिलाको स्वास्थ्य सुधारका लागि कुनै एउटा संस्था मात्र सक्रिय भएर पुग्दैन,’ उनले भने, ‘स्थानीय सरकार र सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक छ ।’ बालविवाह, प्रारम्भिक गर्भावस्था र पाठेघर खस्ने समस्या फरक–फरक विषयजस्तो देखिए पनि यीबीच गहिरो सम्बन्ध छ । शिक्षा, चेतना र स्वास्थ्य सेवामा पहुँचको कमीले महिलालाई लामो समयसम्म पीडा सहन बाध्य बनाइरहेको छ ।
त्यसैले बालविवाह रोक्ने अभियानसँगै किशोरीलाई शिक्षा, महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी, सुत्केरी अवस्थामा पर्याप्त आराम र उचित स्याहार तथा समयमै स्वास्थ्य परीक्षणको पहुँच सुनिश्चित गर्न आवश्यक छ । मिनसरा, गोमा र अनुका अनुभवले एउटै सन्देश दिन्छन्–समस्या लुकाएर राख्दा पीडा बढ्छ, समयमै जानकारी पाएर उपचारमा पुग्दा समाधान सम्भव हुन्छ । नेपालका ग्रामीण क्षेत्रमा बालविवाह अझै पनि ठुलो चुनौती बनेको छ ।
किशोरी उमेरमै विवाह हुने र छिट्टै गर्भवती बन्ने प्रचलनले महिलाको जीवनमा गहिरो असर पार्छ । यसले उनीहरूको शिक्षा, आत्मनिर्भरता मात्र होइन, शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि दीर्घकालीन समस्या ल्याउँछ ।
अझै पनि किशोरी उमेरमै गर्भवती हुँदा शरीर पूर्ण रूपमा तयार नहुँदा प्रसूति जटिलता बढेको छ । रक्तस्राव, उच्च रक्तचाप, समयभन्दा अघि बच्चा जन्मिने, वा मातृ मृत्यु हुने जोखिम उच्च हुन्छ । यसले बच्चाको स्वास्थ्यमा पनि असर पार्छ—कम तौल, कमजोर प्रतिरोधात्मक क्षमता, र दीर्घकालीन स्वास्थ्य समस्याले ठुलो रूप लिन्छ ।
त्यसैगरी बालविवाह र प्रारम्भिक प्रसूति महिलामा गर्भाशय झर्ने समस्या बढाउने प्रमुख कारण हो । किशोरी उमेरमै बच्चा जन्माउँदा श्रोणीको मांसपेशी कमजोर हुन्छ, प्रसूति जटिलताले थप दबाब दिन्छ, र समयभन्दा अघि गर्भाशय तल झर्ने अवस्था आउँछ । यसले महिलाको जीवनमा ठुलो पीडा ल्याउँछ—निरन्तर दुखाइ, पेशाब वा दिसा गर्न कठिनाई, सामाजिक लाज, र काम गर्न असमर्थता ।
धेरै महिलाले यो समस्या लुकाएर बस्छन्, जसले उपचार ढिलो हुने र जोखिम बढिरहेको स्वास्थ्थकर्मीहरूको भनाई छ । यस्ता समस्यालाई समाधान गर्नका लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रले र एम्प्लिफाई चेन्जद्वारा सञ्चालित समसारा परियोजनाले जस्ता कार्यक्रमहरूले समुदायमा सचेतना फैलाइरहेका छन् ।
किशोर अवस्थामै विवाह रोक्ने, स्वास्थ्य सेवा पहुँच बढाउने, र परिवारलाई शिक्षा तथा अधिकारबारे जानकारी दिने काम भइरहेको छ । स्थानीय सरकार, विद्यालय, र स्वास्थ्य संस्था मिलेर बालविवाह रोक्ने अभियान चलाइरहेका छन् । साथै, गर्भाशय झर्ने समस्याको उपचार र पुनःस्थापना सेवा उपलब्ध गराउने प्रयास पनि भइरहेको छ ।