© 2026
‘वेश्यावृत्ति भन्दा खराब तीन वटा पेसा छन् – राजनीति, वकालत र पत्रकारिता – मैले यी तीन वटै पेसा गरिसकेको छु’ – डा. खुशवन्त सिंह ।
‘राजनीति ही एकमात्र ऐसा पेसा है जिसमे आप झूठ बोल सकते है, धोखा दे सकते हैं और चोरी कर सकते हैं, फिर भी आपका सम्मान किया जाता है’ – मार्क ट्वेन ।
‘हेलिकाप्टर पठायौं तर कोही फेला परेन’: बाढीपछि उद्धार संयन्त्रलाई नै ‘अल्मल्याउने गरी’ भ्रामक सूचनाको भेल’ बिबिसी नेपाली सेवाले प्रकाशित गरेको समाचारको शीर्षक हो यो । नेपाल पत्रकार महासंघले १९ गते निकालेको प्रेस विज्ञप्तिमा सरकारी सञ्चार माध्यमबाट पत्रकारहरू निस्कासन गरिएकोमा विरोध जनाइएको छ । रेडियो नेपालका पत्रकार प्रमोद दाहालले टिप्पणीमा लेखेका छन् ‘पुरै हावादारी विज्ञप्ति । रेडियो नेपालबाट कोही निकालिएको छैन ।’ दुई दाहालका मातृदल फरक हुँदा वित्तिकैको अवस्था हो योे पत्रकार महासंघ भित्रको ।
टिप्पणी कर्ता दाहाल पनि कुनै बेला महासंघको केन्द्रमा रहेर काम गरेका पत्रकार हुन् । यो भन्दा बढी अरू के लेखौं, खै ? प्रेस काउन्सिल नेपालले पनि विपतका बेला सकारात्मक र मानवीय तथा जिम्मेवार सञ्चार सम्बन्धी सम्पादकीय निर्देशिका २०८३ जारी गरेको छ सोही दिन । सञ्चार माध्यमले कस्तो समाचार दिएका छन् र त्यसले कस्तो असर परेको छ, कति उजुरी आए र तिनको सुनुवाई कसरी भयो भनेर पनि जानकारी गराउने गरेकै छ ।
तर पनि आचार संहिता पालन भएको छैन, देखिदैन । कारण त्यही हो – अल्लाह मेहरवान तो गधे भी पहलमान ! दक्ष इन्जिनियर रहेछन् श्रीराम न्यौपाने र सागर ढकाल । उनीहरूलाई उद्धारबाट लखेट्न मिडियाले रास्वपा माननीय भनेर भ्रम फैलाए । सञ्चार माध्यमले फैलाएको भ्रममा परेछ रास्वपा नेतृत्व पनि र फिर्ता बोलाएछ ।
‘ग्रीन आर्मी’ जस्ले सिफारिस गरेर दर्ता गरायो, प्रोत्साहन गरेर पोषक पनि प्रयोग गर्ने अधिकार दिएर गुपचुप राख्यो, बदनाम हुने अवस्था आएपछि अहिले उसैले अरूका थाप्लामा दोष थोपरेर हल्ला मच्चाउन थाल्यो । विश्वविख्यात सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्स, युएन् एजेन्सी सहित धेरै देशका विज्ञहरूले नेपाल सरकारले रसुवाको भोटेकोशी, नुवाकोट र धादिङको त्रिशूलीमा गत १० गते आएको बाढीमा परेकाको खोज, उद्धार र उपचारमा गरेको प्रयासमा खोट देखेका छैनन् ।
त्यसभन्दा राम्रो अर्को विकल्प हुन सक्थ्यो भन्न सकेका छैनन् । तर तिनीहरू भन्दा पनि धेरैजान्ने रहेछन् हाम्रा पुराना दलका नेता, सांसद र उनीहरूद्वारा सञ्चालित सञ्चार माध्यम र पत्रकारहरू । त्यसैले इन्जिनियर प्रधानमन्त्रीलाई पनि प्रविधि सिकाउँछन् प्राविधिक विषय नपढेकाले । हाम्रा नेताले भनेको किन नमानेको भनेर थर्काउँछन् र भ्रम फैलाउँछन् मिडिया र पत्रकारले । दक्षिण भारतको चर्चित आईटी शहर बैंगलोरमा बसेर, प्रविधि नपढेर, गुच्छा खेलेर आएको जस्तो ठानेर, मानेर ।
चुनावै नलडी, बारबारा फाउन्डेसन, नेपाली सेना र अमेरिका मिलेर नेपालको प्रधानमन्त्री बनाइदिएको हो भनेर । साँच्चै भन्ने हो भने कांग्रेस, एमाले, नेकपा, जसपा र राप्रपाका नेतालाई खुशी पार्न बनेको हैन यो सरकार । झलनाथ खनालले त मुख्यशत्रू भनिसकेका छन् र भदौ २३ र २४ गतै उस्तै आन्दोलन गरेर हटाउने, हटाइने उद्घोष गरेकै हुन् ।
एमाले सचिव महेश वस्नेतले त सयदिन पुगेपछि पोहोरको जेनजीको भन्दा ठूलो आन्दोलन गरेर हटाउने भनेकै थिए । प्रचण्डले पनि जिल्ला जिल्लामा र काठमाण्डौमा लाखौं मान्छे उताररेर हटाउने भनेकै हुन् । उनीहरूका कुरा जनताले नपत्याएर, साथ नदिएर मात्रै हो नगरेको । जनताले साथ दिएका भए सयदिन पनि कुरेका थिएनन् पुराना दलले ।
नसकेपछि हामीले सहयोग गरेकै छौं, तर पनि टेरेन, हामीतिर फर्केर हेरेन, बोलेन भनेर थाकेका छैनन् । उनीहरूको सहयोग र समर्थनले टिकेको सरकार हैन यो । जतिञ्जेल जनताले साथ दिन्छन्, त्यतिञ्जेल टिक्छ । जनताले साथ नदिदा वित्तिकै जान्छ । पुराना दलका दयाले टिकेको हैन र उनीहरूप्रति जवाफदेही बन्न पनि पर्दैन । यति विषय पनि बुझेका छन् अचेलका सचेत जनताले ।
पुरानाले पुरानै तरिकाले काम होस् भन्दा नयाँले नमान्नु स्वभाविकै हो । पुस्ता, प्रविधि र पहुँचको विवाद हो यो । मेटिन्न कहिलै पनि । आज जो पुराना छन्, नयाँ थिए हिजो । आज जो नयाँ छन्, पुरानिने छन् भोलि । पुरानाले आफ्नो युग र समयमा जे गरे, त्यही गर्दैछन् नयाँले पनि आफ्नै शैली, सोच र समय अनुसार । पुराना पात पहेलिदै गएर झर्ने हो, नयाँ अघि सर्ने हो जहातहिँ । प्राणी जगतममा सवैतिर । सवैको आयु र वायु हुन्छ । आयु र वायु सकिएपछि जान्छ । कसैले रोक्न सकिन्न ।
मान्ने नमान्ने अधिकार त छ सबैलाई । तर प्रकृतिको गति छेकिन्न । राजनीतिबाट खारिएर प्रधानमन्त्री बनेका हैनन् बालेन । लामो समयसम्म राजनीति गरेर आएका भन्दा नयाँ अनुहार खोजेर जनताले रोज्दा उनी सर्वािधक लोकप्रिय रहेका युवा हुनाले प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । त्यसैले उनमा युवा उत्साह र जोश छ ।
देशमा आएको महाविपत्तिले संवेदनशील र भावुक पनि बनाएको रहेछ । सदनमा बोल्दा देखिएकै थियो त्यो । शायद जवाफदिन सक्ने अवस्थामा पनि थिएनन् होला । जिम्मेवारीले थिचिएको र अनुभव पनि नभएको मान्छेका आफ्नै खालका आन्तरिक पीडा हुन्छन् । बोल्दा कसैलाई आरोप लगाएनन्, आत्मप्रशंसा पनि गरेनन् ।
उद्दार, उपचार, पुनर्निर्माण र राहत वितरणमा लागेकालाई प्रोत्साहन गर्न आग्रह गरे । स्वभाविकै थियो त्यो । बालको खाल उतारेर बहस गर्ने विश्लेषकले उनका शब्द केलाउन थाले । चर खोजेर आफ्नैखाले अर्थ लगाएका छन् । बुझ्नपर्ने विषयचाहिँ के हो भने यस्तो बहसले पीडितहरूको सेवामा सहयोग गर्छ कि गर्दैन ? खोज र उद्धार सकिएको छैन । स्वदेशी तथा विदेशी टिम खटिएका छन् । घाइते सहित र सर्वश्व गुमाएका पीडितहरूका पीडा आफ्नै ठाउँमा छन् ।
राजनीति गर्ने दल र नेताका स्वार्थ पनि आफ्नै खाले होलान् । भन्दा सवैले सेवाका कुरा गरेर धन्दाचाहिँ दलीय स्वार्थ पुरा नगरे हुन्छ । पीडितका पीडा कम गराए पुग्छ । जलवायु परिवर्तनको असर रहेछ यो र रहेछ विकशित मुलुकले गरेका बदमासीको सजाय नेपालीले भोग्न पारेको । त्यसैले भनिदैछ – संयुक्त राष्ट्रसंघको आसन्न महासभामा प्रधानमन्त्री आफै गएर, नेपाल र नेपालीले भोगेको विपतको विषय उठाएर, क्षतिपूर्ति माग्नपर्छ ।
यो विषयमा शक्तिसम्पन्न दुवै छिमेकी चिन र भारतले पनि सघाउलान् । अनि सघाउलान्, जुन देशका विशेषज्ञहरूको टोली आएर सघाएका छन् । संयुक्त राष्ट्र संघीय र युरोपियन युनियन सहित धेरै देशका कूटनीतिक नियोगका प्रतिनिधिले नदेखेको विषय भएन । यसर्थ अन्तर्राष्ट्रिय सहयोेग जुटाउन असम्भव छैन ।
जुटेको सहयोगको सदुपयोगका लागि उनीहरूले विश्वास गरेर भर परेको युवा टोलीको निर्वाचित बहुमतको सरकार छ । जतिसुकै आरोप लगाए पनि आजसम्म बेदाग छ र छ परीक्षणमा पनि । आपतलाई अवसरमा बदल्न सक्षम प्राविधिकहरूको टोली पनि छ । विषयविज्ञताको कमी छैन । अन्तर्राष्ट्रिय सहयोगको अभाव पनि नहोला । पुनःनिर्माण र पुनःस्थापनका काम अगाडि बढाउँदै जाँदा क्षमता भए नभएको व्यवहारले देखाउला । प्रतिक्षाको विकल्प नहोला ।