© 2026
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवामा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो ।
मन्त्रालयले गत भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।
विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाएर विद्युतीकरणलाई तीव्रता दिएको हो । यसैक्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।
यस्तै, विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलका लागि र घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने काम पनि अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका छन् ।