Butwal Today

जेनजी सहिद दिवस: ‘पात्र मात्रै फेरिए, प्रवृत्ति भने उस्तै’ 

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको नरसंहारले मुलुकले ठुलो मानवीय र आर्थिक क्षति व्यहोरेको सर्वविदितै छ ।

बदलामा नेपाली जनताले केवल पुरानो सरकार परिवर्तन भएर नयाँ सरकार पाएको महसुस मात्रै गरिरहेका छन् । जेनजी आन्दोलनको परिणामस्वरूप फागुन २१ गते भएको आम निर्वाचनबाट नेपाली जनताले देशको सत्ता रास्वपालाई सुम्पिए । बदलामा दुई तिहाई नजिकको सरकार बन्यो तर जनताको आशा र अपेक्षा भने पूरा हुने कुनै संकेत देखिएको छैन ।

बरु भदौ १० गतेको भोटेकोसी बाढीले मुलुकलाई बर्षौपछि धकेलेको छ । वास्तवमा जेनजी आन्दोलन नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण चक्र थियो । त्यो आन्दोलन केवल सत्ता असन्तुष्टिको विस्फोट थिएन, जेनजीमा यो लामो समयदेखिको निराशा, आक्रोश र परिवर्तनको चाहना थियो ।

सडकमा उत्रिएका जेनजी युवाहरूले आफ्नो भविष्य सुरक्षित होस्, देशमा सुशासन कायम होस्, भ्रष्टाचार अन्त्य होस् र राज्य नागरिकप्रति जवाफदेही बनोस् भन्ने माग गरेका थिए । यही परिवर्तनको आशामा कतिपय युवाले आफ्नो जीवन बलिदान दिए । तर आज प्रश्न उठिरहेको छ—के उनीहरूले देखेको सपना पूरा हुँदैछ ? दर्जनौं जेनजीहरू अहिलेपनि घाईते अवस्थामा छन् ।

उनीहरू नयाँ सरकारप्रति उत्साहित हुन सकिरहेका छैनन् । जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै बालेन सरकारले जेनजीहरूको भावनाको सम्मान गर्न सकिरहेको छैन । जेनजी आन्दोलनपछि पनि राजनीतिक दलहरूको कार्यशैलीमा अपेक्षित परिवर्तन देखिएको छैन । पुराना दलका नेताहरू सच्चिने ठानिएको थियो । तर, उही सत्तालिप्साको राजनीतिमा लिप्तछन् । फरक यत्ति हो, पहिले संघीय राजनीतिका हस्तीहरू अहिले प्रदेशतिर झरेका छन् ।

जेनजी आन्दोलनले मुलुकमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको थियो । तर दल फेरिए, अनुहार फेरियो, सत्ता समीकरण बदलियो तर राजनीतिक संस्कार बदलिन सकेन । जेनजीले खोजेको परिवर्तन कुर्सीको होइन, सुशासनको थियो ।

भ्रष्टाचार अन्त्यको थियो । दुःखका साथ भन्नुपर्दछ सत्ता, पद, भागबन्डा र व्यक्तिगत स्वार्थको राजनीति अझैपनि हावी भैरहेको छ । नेपाली जनतामा सबै दल उही झोले हुन भन्ने गहिरो छाप परेको छ । त्यसलाई बाहिर निकाल्नु अवको आवश्यकता हो ।

जेनजी पुस्ता सूचना र प्रविधिसँग जोडिएको छ । जेनजीहरू देशमा सुशासन र विकास भएको देख्न चाहन्छन । त्यही भएर उनीहरूले तत्कालीन ओली सरकारले अर्को विकल्प नदिईकन सामाजिक सञ्जाल बन्द गरेकोमा आक्रोस ब्यक्त गरे ।

अन्ततः त्यो आक्रोसको आगो सत्ता परिवर्तनसम्म पुग्यो । रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, बढ्दो भ्रष्टाचार, राजनीतिक पहुँचबिना अवसर नपाइने अवस्था, सार्वजनिक सेवामा हुने ढिलासुस्ती र राज्य संयन्त्रप्रतिको अविश्वासले धैर्यको सीमा नाघिसकेको अवस्थामा सामाजिक सञ्जालमाथिको प्रतिवन्ध ओली सरकारका लागि ठुलो घातक निर्णय वन्यो ।

अब जेनजीको सपना पूरा गर्न सबैभन्दा पहिले राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्छ । पुराना दलहरूको पुरानै नेतृत्वले जेनजीको भावना सम्बोधन गर्न सक्दैन् । लोकतन्त्रको वास्तविक सफलता निर्वाचनमा मात्र होइन, नागरिकको जीवनमा आएको सुधारबाट मापन हुनुपर्छ ।

भदौ २३ का सहिदहरूको बलिदानलाई सम्झिने हो भने अब राजनीतिक दलहरूले भाषण होइन, परिणाम दिनुपर्छ । जेनजीको सपना कुनै पुस्ताविशेषको माग मात्र होइन; यो समुन्नत, न्यायपूर्ण र उत्तरदायी नेपालको साझा सपना हो । त्यसैले अब पुरानो राजनीतिक शैली त्यागेर नयाँ संस्कार निर्माण गर्नैपर्छ । सहिदहरूको सपना पूरा गर्ने साँचो श्रद्धाञ्जली यही हुनेछ ।

सत्ता र स्वार्थको राजनीतिले फेरि निराशा बढाएको छ । अब जेनजीको सपना नारामा होइन, व्यवहारमा पूरा गर्नुपर्छ । जेनजी पुस्ताले खोजेको परिवर्तन अब राज्य र समाज दुवैको साझा जिम्मेवारी हो । अनिमात्र जेनजी सहिदको सपना पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?