© 2026
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार राति ९ः०५ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाको सिङ्गटीमा ३३।४ मिलिमिटर मापन भएको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।