Butwal Today

भोटेकोशी बाढी अपडेट : मृतक १,२०४ पुगे, ४,२१६ जना अझै सम्पर्कविहीन

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न मानव अंगसहित १,२०४ शव फेला परेको जनाएको हो। प्राधिकरणका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ११५, नुवाकोटबाट १५५, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१७, धादिङबाट ६०, नवलपरासी पश्चिमबाट २०२, गोरखाबाट ६९ तथा चितवनबाट ३४८ शव फेला परेका छन्।

फेला परेका शवमध्ये हालसम्म ९५ वटा शव मात्रै आफन्तले बुझेका छन्। पहिचान हुन नसकेका शव आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ५ सयभन्दा बढी शव जमिनमा गाडिसकिएको छ भने बाँकी शव केही दिनसम्म पहिचानका लागि राखिनेछ। त्यसपछि पनि पहिचान हुन नसके डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने जनाइएको छ।

यस्तै, बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या ४ हजार २१६ पुगेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?