© 2026
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ मा खोलाले बगाउँदा दुई युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा रैनादेवी छहरा–७ जोगदमारका ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रबिन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनीहरू भदौ १५ गते साँझ मोटरसाइकलमा सत्यवतीतर्फ गएका थिए।
लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा गएका उनीहरू भदौ १७ गते बिहानसम्म सम्पर्कमा नआएपछि अस्थायी प्रहरी पोष्ट बेलबासमा खबर गरिएको थियो। त्यसपछि प्रहरीले खोजी थालेको थियो। खोजीका क्रममा रैनादेवी छहरा–७ डुम्रेवासस्थित सडकबाट करिब ५ फिट तल ठाडोखोलामा मोटरसाइकल भेटिएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार दुवै जनाको शव भने रुपन्देहीको सैनामैना नगरपालिका–१० मौवाधारीस्थित कञ्चन खोलामा फेला परेको प्रहरीले जनाएको छ।