Butwal Today

प्रचण्डले भने– प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिनुपर्छ, यस्तो कार्यशैलीले हुँदैन

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौं । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिन नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो । यस अर्थमा धन्यवाद भन्छु । तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो । संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिपक्षीलाई मात्रै होइन । कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहनत गरेको मैले चाहिँ देख्दिनँ,’ उनले भने ।

उनले प्रधानमन्त्री संसद्मा आएर सांसदहरूको कुरा नसुनी फर्किने गरेको भन्दै प्रश्नसमेत उठाए । ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ । यो के तरिका हो ? यस्तो हुँदैन । प्रधानमन्त्री त हामी सबैको हो । जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका ?’ प्रचण्डले भने ।

प्रचण्डले प्रधानमन्त्री बालेन शाहले ठूलो अवसर पाएको भन्दै त्यसलाई गुमाउन नहुने बताए । ‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ । उहाँलाई अवसर प्राप्त छ । गुम्न दिनुहुँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने– यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन, नेतृत्व खोजेको छ देशले । जनताले आश्वासन खोजेका छैनन् । हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्,’ उनले भने ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै अहिलेको संकट समाधान नहुने बताए । ‘सोसल मिडियामा पोस्ट हैन । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन,’ उनले भने ।

देश अहिले संकटमा रहेकाले सबै राजनीतिक शक्तिबीच एकता आवश्यक रहेको प्रचण्डको भनाइ छ । यस्तो अवस्थामा सबैलाई एकताबद्ध गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको उनले बताए ।

‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस् । एकजुट त मैले पारेर हुँदैन । हिजो त हुने जमाना थियो । अहिले अर्को जमाना आएको छ तपाईंहरूको । तपाईंहरूको नेता प्रधानमन्त्री, हाम्रो पनि प्रधानमन्त्री हो,’ उनले भने ।

प्रधानमन्त्रीले गम्भीरतापूर्वक सबैको विश्वास जित्न नसके समयले पर्खिन नसक्ने चेतावनीसमेत प्रचण्डले दिए । उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नुभएन भने समयले नपर्खिन सक्छ उहाँलाई पनि । यति ध्यान रहोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?