Butwal Today

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व होः रास्वपा उपनेता पराजुली

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपत्का बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका तर्फबाट भनाइ राख्दै उनले रसुवाको भोटेकोशी बाढीपीडित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाका लागि काम गर्नुपर्ने बताए । यो पुस्ताले नसुनेको प्रलय भोगिरहेकाले बाढीले हजारौँ परिवारलाई विचलित बनाउँदै त्रिशूली सभ्यताको नाश गरेको उनले बताए ।

उपनेता पराजुलीले भने, “उद्धार गर्ने प्रयास जारी छ, जटिल भौगोलिक बनोट छ, कठिन खोँच भएको भूगोलमा घटना भएको छ, पर्याप्त स्रोत, साधन नभए पनि तीनवटै सुरक्षा निकाय लागिरहेकामा प्रशंसा गर्नुपर्छ, राज्यले आफूसँग भएको साधनमात्र प्रयोग गरेर पर्याप्त ठान्नुहुँदैन, अन्य सहयोग पनि लिनुपर्छ ।”

सूचना केवल तथ्य सार्वजनिक गर्ने उद्देश्यले मात्र नभई पीडित परिवार र राज्यकाबीच सेतु बन्ने माध्यम बन्नुपर्नेमा उनले जोड दिए । उनले पीडित र बेपत्ता परिवारको विश्वास लिएर काम गर्ने बताए । राज्यको सम्पूर्ण सामर्थ्य परिचालित हुनुपर्नेमा जोड दिँदै उनले सीमित साधनको अधिकतम प्रयोग गर्न सक्नुपर्ने बताए ।

सङ्कटका बेला पदमा बस्नेमात्र होइन, जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टर र ड्रोनबाट काम भइरहेको जानकारी दिए । सुरक्षाकर्मी र उद्धारकर्मी ज्यान नभनी लागेकाले उनीहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने उपनेता पराजुलीको भनाइ छ । विपत्का बेला राज्यको अथक प्रयासलाई सम्मान गर्नुपर्ने बताउँदै उनले कमजोरीबाट पाठ पनि सिक्नुपर्ने सुझाव दिए ।

उपनेता पराजुलीले भने, “हाम्रो तयारी पर्याप्त नभएको देखियो, महाविपत्तिले विकास मोडलमा गम्भीर प्रश्न उठाएको छ, विकास संरचनामा धेरै क्षति भएको छ, विद्युत् संरचना नष्ट भएको छ, नदी करिडोरका पूर्वाधारका बारेमा पुनर्मूल्याङ्कन गर्नुपर्छ ।”

हिमताललगायत संरचनालाई स्याटेलाइट प्रणालीबाट हेर्ने माध्यम बनाइनुपर्ने तथा विपद्मा विश्वव्यापी अभ्यासअनुसार शव व्यवस्थापन गरिएकाले राजनीतिक रूपमा भ्रम फैलाउन नहुने उनको भनाइ छ । विश्वव्यापी जलवायु सङ्कटमा नेपालको भूमिका कम भए पनि धेरै क्षति भोग्नुपरेको उपनेता पराजुलीले बताए । यसको क्षतिपूर्ति नेपालले अन्तर्राष्ट्रिय अदालतसमक्ष दाबी गरिसकेको पनि उनले बताए ।

निश्चित भूभागमा आएको विपद्ले नेपालमै असुरक्षा छ भन्ने सन्देश दिन नहुने बताउँदै उपनेता पराजुलीले यसले पर्यटन व्यवसायीमा अर्को विपत्ति थपिने गरी प्रचार नगर्न अनुरोध गरे । शोकको अवस्थामा भए पनि राज्य यत्तिकै बस्न नहुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?