© 2026
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले सडक तथा पुल पूर्वाधारमा कल्पनाभन्दा बाहिरको क्षति पुर्याएको छ। सडक विभागका अनुसार हालसम्मको प्रारम्भिक मूल्यांकनमा सडक पूर्वाधारमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भने करिब ५० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
सडक विभागका महानिर्देशक डा। विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा तथा पृथ्वी राजमार्ग क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्था निकै भयावह रहेको जानकारी दिए। उनका अनुसार रसुवागढी क्षेत्रमा बाढीको छाल करिब १०० मिटर माथिसम्म पुगेको थियो भने बाढीको गति करिब ५२ मिटर प्रतिसेकेन्ड रहेको थियो।
सामान्यतया सडक तथा पुल निर्माण गर्दा विगतका बाढीको तथ्यांकका आधारमा निश्चित अवधिको जोखिमलाई ध्यानमा राखेर डिजाइन गरिने भए पनि यसपटकको बाढी त्यसको तुलनामा निकै ठूलो भएको जैसीले बताए। बाढीका कारण एउटा पुल बगाउँदा त्यसको भग्नावशेषले अर्को पुलको पिलरमा समेत क्षति पुर्याएको विभागले जनाएको छ। लेदो, ढुंगा, बरफ तथा अन्य सामग्रीसहित तीव्र गतिमा आउने यस्तो बहावलाई ‘डेब्री फ्लो’ भनिन्छ। यस्तो स्तरको डेब्री फ्लो अन्तर्राष्ट्रिय सडक निर्माणका मापदण्ड तथा कोडहरूले समेत परिकल्पना नगरेको महानिर्देशक जैसीले बताए।
४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त
बाढीले गल्छी–बेत्रावती–रसुवागढी सडकको करिब ४० किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त बनाएको छ। सडकका विभिन्न स्थानमा लेदो तथा पहिरो थुप्रिएको छ भने कतिपय स्थानमा सडकको संरचना नै बगेको विभागले जनाएको छ।
कृष्णभीरमा नयाँ बाटो, स्याफ्रुबेँसीमा ‘लुप’ डिजाइन
पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर क्षेत्रमा सडक सञ्चालनमा ल्याउन भित्तातर्फबाट ‘ब्याक कटिङ’ गरी नयाँ बाटो निकाल्ने तयारी गरिएको छ। उक्त काम सम्पन्न गरी सडक सञ्चालनमा ल्याउन कम्तीमा दुई साता लाग्न सक्ने विभागको अनुमान छ। त्यस्तै, स्याफ्रुबेँसी–केरुङ सडक पुरानै स्थानबाट पुनः जोड्न कठिन देखिएपछि सडकलाई माथिबाट लैजाने र पुनः तल झार्ने गरी ‘लुप’ डिजाइनमा निर्माण गर्ने योजना अघि सारिएको छ।
भारत र चीनबाट बेलिब्रिज ल्याइँदै
बाढीका कारण तीन जिल्लामा गरी ३५ वटा पुलमा क्षति पुगेपछि तत्काल आवागमन सञ्चालन गर्न भारत र चीनबाट बेलिब्रिज ल्याउने तयारी भइरहेको छ। सडक विभागका अनुसार भारतबाट ७० मिटर लम्बाइका १० वटा बेलिब्रिज ल्याउने तयारी भइरहेको छ भने चीनबाट पनि बेलिब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको छ। तत्कालका लागि विभागसँग मौज्दात रहेका बेलिब्रिज देवीघाट, त्रिशूली र बेत्रावती क्षेत्रमा जडान गर्ने काम सुरु गरिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल सडकसम्बन्धी काम अघि बढाउन सडक बोर्डले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। दसैँ नजिकिँदै गर्दा ग्यास बुलेट तथा इन्धनको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्गमा रातिको समयमा समेत ट्राफिक व्यवस्थापन गरिरहेको विभागले जनाएको छ।
त्यस्तै, देशभरका मुख्य राजमार्गमा थुप्रिएको लेदो तथा पहिरो पन्छाउन १५ भन्दा बढी हेभी इक्विपमेन्ट र ५० भन्दा बढी प्राविधिक फिल्डमा परिचालन गरिएको छ। सडक विभागले कठिन परिस्थितिका बाबजुद प्राविधिक तथा कर्मचारीहरू निरन्तर फिल्डमा खटिएर सडक सञ्चालन, यातायात व्यवस्थापन तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने काम भइरहेको जनाएको छ।