Butwal Today

राष्ट्रियसभा: विपद्मा मानवीय कार्यमा जुट्न आग्रह

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन् ।

बैठकमा दलीय आधारमा बोल्दै नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले यही भदौ १० गते भएको विपत्तिपछिको उद्धार प्रयासमा अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गरिन् ।

उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै उनले यति ठुलो प्राकृतिक विपत्तिको सामना गर्न राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र दलीय घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताए ।

ठुला र धनी मुलुकले प्रकृतिमाथि गरेको दोहन र तापक्रम बढेका कारण यस्तो समस्या आएको विषयमा विश्व समुदायलाई बुझाउनुपर्नेमा उनले जोड दिए । उनले घाइते र विस्थापितमध्ये सुत्केरी तथा बालबालिकालाई बेग्लै ढङ्गले सुरक्षित स्थलमा राख्न सुझाव दिए ।

नेकपा (एमाले) का डा प्रेमप्रसाद दङ्गालले आफूहरू विपद्मा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्धस्तरमा लाग्न आग्रह गरे । उनले नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबिचको समन्वय बढाएर काम गर्नुपर्ने बताए । उनले जलवायु न्यायको पहल गरी पृथ्वी र मानव सभ्यताको रक्षार्थ लाग्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले छिमेकीलगायत विश्वस्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताउँदै दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?