Butwal Today

पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्युपछि ८ अधिकारी निलम्बित

१४ भाद्र २०८३, आइतबार
अ+
अ-
इस्लामावाद ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सकेकी थिइन् ।
निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपत्कालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन् ।
प्रधानमन्त्री सरिफले शनिबार जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए । उनले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्ध समेत कारबाही अघि बढाउन स्वीकृति दिएका छन् ।
प्रतिवेदनअनुसार आगलागी सुरु भएको करिब छ मिनेटपछि आपत्कालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो । अभिभावक तथा प्रत्यक्षदर्शीहरूले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसहरूलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन् ।
अस्पतालमा आगलागी तथा अन्य आपत्कालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ । आगलागी हुँदा वार्डमा दुई नर्स, एक महिला सुरक्षाकर्मी र अर्का एक कर्मचारी उपस्थित थिए ।
स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एयर कन्डिसनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताएका थिए । तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ ।
घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो ।
पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन् । गत जनवरीमा कराँचीको एक सपिङ सेन्टरमा भएको आगलागीमा ६५ जनाभन्दा बढीको मृत्यु भएको थियो । सन् २०२३ मा कराँचीकै अर्को सपिङ मलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?