Butwal Today

कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ कोषमा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको बताएका छन् ।

उनले कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शन प्रभावित नागरिकप्रति समर्पित गर्ने बताएका छन् ।

यस्तै, एसीसी प्रिमियर कपमा नेपालले लिने हरेक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने हरेक चौका र छक्काबापत १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन,’ सन्दीपले भनेका छन् । उनले हरेक विकेट, हरेक बाउन्ड्री र हरेक हुटिङ नेपालकै लागि हुने उल्लेख गरेका छन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।

नेपालले एसीसी प्रिमियर कपको समूह चरणमा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?