© 2026
बुटवल ।
चिदिका रुपन्देही सम्पर्क समाजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजकी अध्यक्ष गीता ज्ञवालीको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले गरेका थिए ।
साधारण सभामा अध्यक्ष गीता ज्ञवाली र कोषाध्यक्ष रामप्रसाद पन्थीले प्रस्तुत गरेको क्रमशः संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ । सभाले संस्थाका आगामी कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी बनाउँदै सदस्यबिचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष पुरुषोत्तम अर्यालले समाज स्थापनाको उद्देश्यअनुसार सदस्यबिचको सम्बन्ध विस्तारसँगै सामाजिक क्षेत्रमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले संस्थाले स्थापनादेखि हालसम्म हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा थप रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पूर्व अध्यक्ष ईश्वरी ज्ञवालीले संस्थाले विगतमा गरेका कामको समीक्षा गर्दै समाजलाई थप व्यवस्थित र सक्रिय बनाउन सबै सदस्यको निरन्तर सहयोग आवश्यक रहेको बताए । उनले संस्थाको निरन्तरताका लागि नयाँ पुस्तालाई समेत जोड्दै लैजानुपर्ने धारणा राखे ।
निवर्तमान अध्यक्ष केशवराज पन्थीले संस्थालाई यहाँसम्म ल्याउन विगतका नेतृत्व, सदस्य तथा शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको बताउँदै आगामी दिनमा पनि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले संस्थाको गतिविधिलाई अझ प्रभावकारी र सदस्य केन्द्रित बनाउनुपर्नेमा जोड दिए ।
सभामा सहभागीका तर्फबाट माया अर्याल र रामप्रसाद अर्यालले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी सल्लाहकारद्वय जिवनाथ अर्याल र दीपक ज्ञवाली तथा अतिथिको रूपमा सहभागी मोतिलाल श्रीपालीले समाजको गतिविधि र आगामी कार्यदिशाबारे धारणा राखेका थिए ।
समाजका उपाध्यक्ष कमल अर्याल र सचिव हेमनाथ ज्ञवालीले संस्थाको आगामी गतिविधि तथा कार्यक्रमबारे जानकारी गराएका थिए । साधारण सभाका अवसरमा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।