Butwal Today

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिने जानकारी दिएका छन।

यसैगरी, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। यसबीच रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोमा परी लुम्बिनी प्रदेशबाट पुगेका १ सय ८१ जना अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा उद्धारका लागि पहल गरिरहेको जनाएको छ।

कठिन परिस्थितिमा लुम्बिनी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्री आचार्यले अपिल गरेका छन। विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्नसमेत प्रदेश सरकारले आग्रह गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रजीत थारुले विपद्को यो कठिन घडीमा पीडित नागरिकको उद्धार र राहतलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखी आन्तरिक राजस्वबाट प्रदेश सञ्चिति कोषमा जम्मा हुने रकम मध्यबाट सहयोग गर्ने बताए। मन्त्री थारुले भने, “विपद् राष्ट्रिय संकटको विषय हो। अहिले राहत र उद्धारमा सबै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, संघसंस्था र आम नागरिक एकजुट भएर लाग्नुपर्ने अवस्था छ। लुम्बिनी प्रदेश सरकार आफ्नो क्षमता र स्रोतअनुसार प्रभावित नागरिकको साथमा उभिएको छ।” नदीमा बगेर पश्चिम नवलपरासीमा आएका शवको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?