© 2026
रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै बुधवार बिहान भोटेकोसी नदीमा अचानक आएको बाढीले ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार बाढीमा परि दर्जनौँ मानिसको मृत्यु भएको छ ।
सयौँ घर बाढीमा परेका छन् । सयौँ घर परिवार घाइते छन् । तिब्बततर्फबाट अस्वाभाविक रूपमा ठुलो बाढी भोटेकोसी नदीमा प्रवेश गरेपछि पु¥याएको क्षतिले देश शोकमा डुबेको छ । बाढीको प्रभाव भोटेकोसी हुँदै त्रिशूली नदी आसपाससँगै नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका तल्लो तटीय क्षेत्र उच्च जोखिममा छन् ।
विशेष गरी तिब्बततर्फबाट छोटो समयमा ठुलो परिमाणमा पानी प्रवेश गर्नु, पानीको सतह एकाएक बढ्नु तथा नदीमा ठुलो वेगसहित बहाव आउनु नेपालका लागि अव सधैँ खतरा रहेको यो घटनाले स्पष्ट गरेको छ ।
देशले राष्ट्रिय विपत्तिको सामना गर्नुपरेको यो बेला राष्ट्र एक हुनुपर्दछ । राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रमुख राजनीतिक दलका नेताहरूले बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । र, सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । बाढीले पु¥याएको विनाशको खबरले आम नेपाली नागरिकलाई अत्यन्त दुःखी बनाएको छ ।
विपद्को यस कठिन घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिनु जरुरी छ । विपद्को घडीमा सम्पूर्ण देश र नागरिक एकताबद्ध भएर राहत, उद्धार र पुनः स्थापनामा जुट्नुपर्छ ।
सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय र आम नागरिकबिच अहिलेको गम्भीर अवस्थामा एकताको आवश्यकता छ । तटीय क्षेत्रमा अझैपनि जोखिम भएकोले स्थानीय प्रभावित क्षेत्रका बासिन्दा सतर्क हुनु जरुरी छ । नेपालमा कुनैपनि समयमा विपद् आउन सक्ने सम्भावना भएको देश हो ।
प्राकृतिक विपद् रोक्न असम्भव छ तर प्रविधिको प्रयोग, चुस्त व्यवस्थापन, प्रकोप न्यूनीकरणका कार्यक्रम र योजनाबाट क्षति रोक्न सम्भव छ । विपद्को संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ । एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ ।
पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण नेता कार्यकर्ता उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रियरूपमा सहभागी हुनु अहिलेको आवश्यकता हो । विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग । प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै पीडितलाई सहयोगको खाँचो छ ।
सरकारले बाढी प्रभावित जिल्लाहरूलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । नेपालमा प्राकृतिक र मानव सिर्जित विपद्का कारण जनधनको क्षति भइरहेपनि विपद् पीडितको दीर्घकालीन व्यवस्थापनमा राज्यको निरन्तर सरोकार र सहयोग देखिँदैन ।
प्रारम्भिक राहतपछि पीडितहरू गास, बास र कपासको संघर्षमा एक्लिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी राहत प्रणाली विकास गर्नुपर्छ । प्राकृतिक र मानव सिर्जित विपद् नियमित आकस्मिकता हो । त्यसैपनि नेपाल विपद् उच्च जोखिमको देश हो । यहाँ हरेक वर्ष विपद्मै परेर धेरैले ज्यान गुमाउने गरेका छन् ।
तर, राज्यले भरथेग गरेर विपद् पीडितको जीवनयापनलाई सहज बनाउन प्रयत्न गरेको पाइँदैन । नेपालमा बाढी, पहिरो, आँधी, चट्याङ, भूकम्पले निम्त्याउने प्राकृतिक विपद्को सम्भावना उच्च छ । विपद्ले दिने पीडा आफ्नो ठाउँमा छ, त्यसपछि पनि बेवास्ता खेप्नुपर्दा पीडित झन् समस्यामा पर्ने गरेका छन् ।
अतः भोटेकोसी बाढीबाट पीडित परिवारलाई राहतका साथै मृतक परिवारलाई क्षतिपूर्तिको अविलम्ब व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् । विपद्को यो घडीमा सवै राजनैतिक दलहरूले सरकारलाई साथ दिदै प्रभावित परिवारलाई राहत महसुस गराउनुपर्दछ । सरकारले राहत तथा उद्धारको काम गरिरहेको छ, यसलाई अझै सशक्त बनाओस् ।