© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनः स्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बाढीबाट हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको र जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठुलो क्षति पुगेको बताए । उनले क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा प्राप्त नभएको भन्दै अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए ।
मुख्य सचेतक बुर्लाकोटीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका क्षेत्रमा बाढीको प्रभाव परेको जानकारी दिँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार र स्वास्थ्य सेवा पुर्याउन सरकारलाई आग्रह गरे ।
गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रो बस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको उनले बताए । दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत विपद्मा परेको सूचना प्राप्त भएको उनको भनाइ थियो ।
उनले प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै सरकार, राजनीतिक दल, सरकारी निकाय, सङ्घसंस्था तथा पूर्वसैनिक र पूर्व प्रहरीसहित सबै पक्षलाई उद्धार तथा राहतमा परिचालन गर्न आग्रह गरे ।
बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गरे ।
साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोगसमेत लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने उनको भनाइ थियो । प्रतिनिधिसभाको बैठकमा आकस्मिक बैठक जारी छ ।