Butwal Today

‘रेसुङ्गा विमानस्थल नचल्दाको चिन्ता’ 

९ भाद्र २०८३, मंगलवार
अ+
अ-

गुल्मीको रेसुङ्गा विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भैसकेको छ । तर, मौसम खराबीका कारण यो विमानस्थलले यात्रुको अपेक्षा अनुरूप सेवा दिन सकिरहेको छैन ।

पछिल्लो पटक विगत तीन महिनादेखि मौसमकै कारण उडान नहुँदा यात्रुहरूका लागि यो विमानस्थल एकादेशको कथा जस्तै बनेको छ । गुल्मीको तम्घास रेसुङ्गाबाट काठमाडौँ जाने हवाई सेवा पटक पटक मौसम प्रतिकूलताले यात्रुलाई सास्ती मात्रै होइन, जोखिम समेत उत्तिकै छ ।

किनभने काठमाण्डौबाट उडान हुँदा ठिक रहेको मौसम तम्घास आइपुग्दा एकाएक खराब समेत हुने गरेको छ । तसर्थ यो विमानस्थललाई जोखिमरहित बनाउनु पनि उत्तिकै आवश्यक छ ।

गुल्मीको हवाई सेवा यात्रुका लागि भरपर्दो साधन बन्न सकेको छैन । गुल्मी मात्रै होइन, अर्घाखाँची, स्याङजा, बाग्लुङ र प्युठानका जनताले समेत यो विमानस्थलबाट सेवा लिन सक्छन् तर नियमित उडान नहुँदा विमानस्थलमा भएको लगानी बालुवामा पानी हुने हो कि भन्ने चिन्ता छ ।

विमानस्थल कार्यालयले बिहानमा कुहिरो र दिउँसोको समयमा अत्यधिक हावाको चापका कारण नियमित उडान हुन नसकेको बताएको छ । हवाई सेवा अवरुद्ध हुँदा वृद्ध वृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जानुपर्ने यात्रु बढी समस्यामा पर्ने गरेका छन् । विमानस्थलसम्म पुगेर उडानको प्रतीक्षामा बसेका यात्रु अन्तिम समयमा मौसमका कारण उडान रद्द भएपछि पटक पटक निराश हुँदै घर फर्किन बाध्य हुनु ठुलो पीडा हो ।

गुल्मेली जनताको जहाज चढ्ने सपना अझै पूरा भएको छैन । त्यसो त १६ वर्षअघि रेसुङ्गा विमानस्थल निर्माणको काम सुरु हुँदै गर्दा त्यस क्षेत्रका जनतामा विकासको ठुलो मूल फुटेको भनिएको थियो । गुल्मेली जनताको आफ्नै गाउँ ठाउँबाट जहाज चढ्ने बर्षौदेखिको सपना थियो । गुल्मीका राजनैतिक दल, नागरिक समाज, जनप्रतिनिधि, नेपाल सरकार लगायत स्थानीय जनताले बिमानस्थल निर्माणका लागि आवश्यक पहल गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त विमानथलमा पहिलोपटक २०७५ साल जेठ २५ गते धुले उडान गरिएको थियो । त्यसपछि सफल परिक्षण उडान त भएको छ तर नियमित उडान नहुँदा यात्रु स्थलमार्गबाटै १० घण्टा बढी समय लगाएर काठमाण्डौंको यात्रा गर्न विवस छन् । काठमाडौंबाट ४५ मिनेटमा गुल्मी आउन सकिने भएपछि विदेशमा वस्ने नेपालीहरू समेत यो विमानस्थलप्रति निकै आशाबादी भएको थिए ।

विमानस्थलमा दिउसोको समयमा हावाको गति वढ्ने भएकोले बिहानी समयमा मात्रै नियमित उडान गर्न सकिने उडड्यन क्षेत्रका प्राविधिकहरूले धेरै पहिले बताएका थिए । बिहानमा भने हुस्सुका कारण उडान तथा अवतरण गर्न निकै जोखिम छ । यात्रुहरू जोखिम लिएर भएपनि सेवाको आशामा बस्दा पनि उडान नियमित हुन नसक्नु ठुलो चिन्ताको कुरा हो ।

अहिलेसम्म यो विमानस्थलमा नीजि हवाई कम्पनी नआउनु कसको कमजोरी हो ? थप विमान कम्पनीहरू सञ्चालनमा ल्याउनेतर्फ अब ध्यान दिनु जरुरी छ । त्यो भयो भने विमान कम्पनीबीचको प्रतिष्पर्धाले यात्रुले सस्तोमा उडानको सुविधा लिन सक्नेछन् ।

यसतर्फ स्थानीय पालिकादेखि सरकारले पनि ध्यान देओस् । गुल्मीदेखि काठमाण्डौको यात्रा ३० देखि ४० मिनेटमै गर्न सकिने भएकोले यसले गुल्मी, पाल्पा, स्याङजा, अर्घाखाँची र प्युठानको त्यो क्षेत्रको विकासमा धेरै योगदान पुग्नेथियो । विकासका दृष्टिमा धेरै पछि परेका पहाडी जिल्लाको विकासमा यो विमानस्थलले ठुलो भूमिका खेल्ने अपेक्षा छ ।

त्यो अपेक्षा अझैपनि गरिएको छ । विमानस्थल निर्माणकै क्रममा प्राविधिक रूपमा विमानस्थल उडानयोग्य छैन भन्ने हल्ला समेत फैलाइएको थियो । तर, नकारात्मक प्रचारबाजी गलत सावित भएको छ । अव यसको निरन्तरताका लागि हरेक दिन खबरदारी गर्नु जरुरी छ । सवैभन्दा पहिलो प्राथमिकता यसलाई जोखिमरहित बनाउनेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?