© 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले हाँसी हाँसी किस्तीमा पाएको प्रधानमन्त्री पदसमेत त्यागेको बताएका छन् ।
उनले पार्टी र देशको हितका लागि आवश्यक पर्दा नेता–कार्यकर्ताहरू व्यक्तिगत स्वार्थ, पद र अवसर त्याग्न तयार हुनुपर्ने बताएका छन् ।
आइतबार पार्टीको नीति, सङ्गठन तथा नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिन्छ,’ उनले भने, ‘हिजो दोष लगाउने कैयौँ नेता थिए । आज कसलाई देखाउने ?’
लामिछानेले आफू २१ सिटको दलको नेतृत्वमा रहेका बेला प्रधानमन्त्री बन्नका लागि आफ्नो हस्ताक्षर मात्रै बाँकी राखेर प्रस्ताव आएको दाबी गरे । तर, आफू प्रधानमन्त्री बनेको भए आन्दोलन र जनताको अपेक्षामाथि अन्याय हुने निष्कर्षमा पुगेको उनले बताए ।
‘मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिऊँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन,’ उनले भने, ‘त्यति बेला एउटै कुरा दिमागमा आयो– यत्रो आन्दोलन, यत्रो आशा र भरोसा कहाँ जान्छ ?’
आफू प्रधानमन्त्री बनेको भए दुई–चार महिना मात्रै पदमा रहन सक्ने उनको भनाइ थियो । ‘म भइ नै हालेको भए दुई–चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला । धेरै नै भए सिंहदरबारमा एउटा तस्बिरसम्म टाँसिन्थ्यो होला,’ उनले भने ।
तर, देशले ठुलो आन्दोलन र नयाँ पुस्ताको नेतृत्व खोजिरहेको अवस्थामा आफूले व्यक्तिगत पदभन्दा आन्दोलनको उद्देश्यलाई प्राथमिकता दिएको उनले बताए ।
‘देशले यत्रो आन्दोलन कुरेर बसेको थियो । देशले यत्रा होनहार युवा कुरेर बसेको थियो । त्यति बेला साँच्चै मलाई त्यो महसुस भएको थियो,’ लामिछानेले भने । उनले आफूले प्रधानमन्त्री पद अस्वीकार गरेको विषयलाई व्यक्तिगत गर्वको विषय नभई इतिहासमा दर्ज भएको एउटा घटनाका रूपमा लिएको बताए ।
‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो,’ उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन । इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।’