Butwal Today

बालेन सरकारका पाँच महिनाले अधिनायकवादका लक्षण देखाए : प्रदीप ज्ञवाली

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।

उनका अनुसार लामो संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेका छन् ।

‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । असामान्य यस अर्थमा कि एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपछि प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धि, नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एसियामै तुलनात्मक रूपमा खुला रहेको नेपालको त्यो स्पेस—यी सबै कुरा आज संकटमा छन्,’ ज्ञवालीले भने ।

ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षण देखाएको उनको दाबी छ । संसद्भित्रको शक्ति सन्तुलन सरकारका लागि अनुकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको बताए ।

‘ठूलो जनादेश प्राप्त गरेर नेकपा सरकारमा आएको छ । तर गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् कि यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् जसका निम्ति कुनै अर्थको छैन,’ उनले भने, ‘आफ्नै पार्टीको पनि—जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो—त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरू, अन्य राजनीतिक दलहरू त धेरै टाढाको कुरा भयो । मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’

झन्डै दुईतिहाइको जनादेशका कारण सरकारले भविष्यमा संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरे ।

‘भर्खरै सम्पन्न निर्वाचनबाट उसले झन्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसद्भित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन । उसले भोलि प्रतिगामी संशोधन गर्न चाहँदा संविधानमा यद्यपि राष्ट्रिय सभा छ, त्यसले ‘चेक एन्ड ब्यालेन्स’ गर्ला । तर प्रतिनिधि सभाको कुरा गर्ने हो भने, हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नभएको अत्यन्त प्रतिकूल शक्ति सन्तुलनमा हामी छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?