Butwal Today

भारतीय केराको आयातमा कडाइपछि मर्चवारका किसान उत्साहित

४ भाद्र २०८३, बिहीबार
अ+
अ-

भैरहवा ।

भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केराको मूल्य बढेपछि उत्साहित भएका हुन् ।

मर्चवारी गाउँपालिका–१ का किसान बिभाण्ड यादव पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन् । करिब ११ बिघा क्षेत्रफलमा जैविक विधिबाट केरा खेती गरिरहेका यादवका अनुसार अघिल्ला दुई–तीन वर्षमा उत्पादनको उचित मूल्य नपाउँदा किसानले ठूलो घाटा व्यहोर्नुपरेको थियो । कतिपय अवस्थामा केराको मूल्य घटेर प्रतिदर्जन १५ देखि २० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए ।
“केरा बोटमै पाकेर कुहिने अवस्था आउँथ्यो। व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो,” यादवले भने, “यस वर्ष सीमा क्षेत्रमा भारतीय केराको आयातमा कडाइ भएपछि नेपाली केराले बजार पाउन थालेको छ ।”

हाल स्थानीय बजारमा केराको मूल्य प्रतिदर्जन ७० देखि ८० रुपैयाँसम्म पुगेको उनले बताए । मूल्यमा आएको सुधारले व्यावसायिक खेतीमा लागेका किसानलाई केही राहत मिलेको यादवको भनाइ छ ।

तर, बजारमा सुधार आए पनि किसानका आधारभूत समस्या भने समाधान हुन सकेका छैनन् । विशेषगरी सिँचाइका लागि विद्युत् सुविधा नहुँदा किसानले निजी लगानीमै वैकल्पिक व्यवस्था गर्नुपरेको छ । यादवले आफ्नो केरा बारीमा सिँचाइका लागि करिब ९०० मिटर टाढाबाट निजी खर्चमा विद्युत् तार तानेर व्यवस्था मिलाएको बताए ।

उनका अनुसार गाउँपालिकाले गत वर्ष सिँचाइका लागि मोटर र पाइप खरिद गर्न करिब ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । तर चालु वर्षमा त्यस्तो सहयोग निरन्तर हुने–नहुने निश्चित नरहेको उनले बताए ।

किसानका लागि अर्को ठूलो समस्या कृषि बीमा बनेको छ । बीमा प्रक्रियामा रहेको कागजी झन्झट, दाबी भुक्तानीमा हुने ढिलाइ र प्रक्रियागत जटिलताका कारण अधिकांश किसान बीमाप्रति आकर्षित हुन नसकेको यादवको भनाइ छ । मर्चवारदेखि त्रिवेणी क्षेत्रसम्मका धेरैजसो केरा किसानले बीमा नगरेको उनले बताए ।

हालै आएको हुरीबतासले आफ्नो करिब चार हजार केराका बोट नष्ट गरेको भए पनि बीमाको दाबी भुक्तानी लिन नसकेको यादवले बताए । “बीमा गरेपछि क्षति हुँदा पनि रकम पाउन निकै झन्झट छ। किसानका लागि प्रक्रिया सरल नहुँदा बीमा गर्नै डर लाग्छ,” उनले भने ।
यसैबीच प्रतिनिधिसभा सदस्य कन्हैया बानियाले मर्चवारमा पुगेर यादवले सञ्चालन गरेको केरा खेतीको अनुगमन गर्दै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन र किसानका समस्या समाधानका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–४ अन्तर्गतको सीमावर्ती क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीको अनुगमनका क्रममा सांसद बानियाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि क्षेत्रमा लागेका यादवको प्रयासको प्रशंसा गरे । जैविक तथा विषादीमुक्त उत्पादनले नागरिकको स्वास्थ्य संरक्षणसँगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने उनले बताए ।

अनुगमनका क्रममा किसानले उठाएका सिँचाइ, विद्युत् र कृषि बीमासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बानियाले प्रतिबद्धता जनाए । प्रदेशसभा सदस्य रहँदा आफूले सिँचाइका लागि विद्युतका पोल तथा लाइन विस्तारमा सहयोग गरेको स्मरण गर्दै उनले बाँकी क्षेत्रको विद्युतीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।

कृषि बीमाको प्रक्रिया अत्यन्तै कागजी र जटिल भएकाले किसान सेवाबाट वञ्चित भइरहेको उल्लेख गर्दै सांसद बानियाले यसलाई किसानमैत्री बनाउन संसद् तथा सरकारका सम्बन्धित निकायमा आवाज उठाउने बताए । “कृषि बीमाको प्रक्रिया सहज, सरल र किसानमैत्री हुनुपर्छ । किसानले क्षति व्यहोरेपछि समयमै क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ,” उनले भने ।

सीमावर्ती क्षेत्रमा स्वदेशी उत्पादनलाई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज वातावरण निर्माण गर्न सीमा व्यवस्थापनसँगै कृषि उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने नीति आवश्यक रहेको स्थानिय किसानहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?