© 2026
गुल्मी । नेपालीहरूको महान् चाड बडादसैँको अवशर पारेर गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका युवाहरु लिङ्गेपिङको संरक्षण र जगर्नेमा जुटेका छन् । सडक विस्तारका कारण ठूलाठूला वरपीपलहरु ढालेसँगै पछिल्ला वर्षहरूमा लोप हुने अवस्थामा पुगेको मौलिक लिङ्गेपिङलाई स्थानीय नव प्रगतिशील युवा क्लबको सक्रियतामा पुनःजगेर्ना गर्न थालिएको छ ।
लिङ्गेपिङ गाडिएपछि गाउँमा यतिबेला थप रामाईलो बनेको छ । पिङ ठड्याएपछि पुराना दिनको सम्झना र दसैँको वास्तविक उमङ्ग फर्किएको स्थानीय समाजसेवी धातानन्द भुसालले बताए । नेपाली मौलिक सँस्कृति, परम्परा र चाडपर्वको ऐतिहासिक महत्वलाई जोगाउँदै नयाँ पुस्तालाई यसको महत्व बुझाउने उद्देश्यले क्लबले हर्दिनेटाको धरमपानी वरिपरी क्षेत्रमा उक्त पिङ निर्माण गरेको हो ।
दसैँमा कम्तीमा एक पटक भूमि छाड्नुपर्छ भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहँदै आए पनि पहिले देखिने वर–पिपलका रुख र पिङका दृश्यहरू पछिल्लो समय एकादेशको कथा जस्तै बनेको समाजसेवी भुसालले सुनाए । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा तिब्ररुपमा बढ्दै गएको सडक विस्तारका क्रममा चौतारी तथा वर–पिपलका ठूला रुखहरू नासिदै गएपछि हर्दिनेटाको धरमपानी क्षेत्रमा लामो समयदेखि लिङ्गेपिङ लोपहुँदै गएको थियो ।
युवाहरुको सक्रियतामा लामो समयपछि गाउँमा लिङ्गेपिङ ठडिएपछि स्थानीयवासीहरुमा खुसी र उत्साह थपिएको छ ।
गाउँघरमा दसैँको बेला लिङ्गेपिङ गाडेपछि साथीभाइ, आफन्त तथा परिवार एकआपसमा रमाइलो गर्नुका साथै चाडपर्वको रौनक समेत बढाउने गरेको क्लबका संस्थापक अध्यक्ष जनक पन्थले बताएका छन् । सडक विस्तारका कारण धार्मिक परम्परा नै सङ्कटमा पर्न थालेको महशुस भएपछि क्लबका युवाहरू जुटेर साँस्कृतिक परम्पराको संरक्षणमा जुटेको क्लबका पूर्व सचिव मेघराज कण्डेलले बताए ।
यतिबेला बालबालिकादेखि युवा पुस्ता लिङ्गेपिङमा रमाईरहेका छन् देखिन्छन् । पछिल्लो समयमा ओझेल पर्दै गएको लिङ्गेपिङको मौलिक सँस्कृतिलाई जोगाउन गुल्मी हर्दिनेटाका युवाहरूले गरेको उक्त प्रयास धेरैको लागि प्रशंसाको विषय समेत बनेको बताईएको छ ।