© 2026
भैरहवा ।
नेपाल भारत मैत्री सङ्घ लुम्बिनी प्रदेशको आयोजनामा सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीबिच प्रदेशस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
श्रावण २४ गते एकै दिन र एकै समयमा बाँके, दाङ, रुपन्देही र पाल्पाका ४२ वटा सामुदायिक विद्यालयमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा चार जिल्लाका गरी ३३७ जना छात्रछात्राको सहभागिता रहेको नेपाल भारत मैत्री सङ्घ रुपन्देहीका अध्यक्ष श्रीचन्द्र गुप्ताले बताए ।
नेपाल–भारत सम्बन्धका विविध आयामलाई समेटेर विद्यार्थीलाई तीन वटा विषयमध्ये कुनै एकमा निबन्ध लेख्न लगाइएको थियो । प्रतियोगिताका लागि ‘शिक्षा र पर्यटनमा नेपाल–भारत सम्बन्धको योगदान’, ‘नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन विद्यार्थीको योगदान’ र ‘नेपाल–भारतबिच जलस्रोत तथा ऊर्जामा सहकार्य’ शीर्षक निर्धारण गरिएको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीले आफूलाई उपयुक्त लागेको कुनै एक शीर्षकमा निबन्ध लेखेका थिए । विद्यार्थीमा नेपाल–भारतबिचको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धबारे अध्ययन र बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।
प्रतियोगिताका लागि विभिन्न जिल्लामा नेपाल भारत मैत्री सङ्घका सम्बन्धित जिल्ला शाखा तथा उपशाखाका अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पाल्पामा कृष्णप्रसाद श्रेष्ठ, रुपन्देहीमा श्रीचन्द्र गुप्ता, बाँकेमा प्रदीपकुमार गुप्ता र दाङमा सुशील कुमार न्यौपानेलाई प्रतियोगिता सञ्चालनको जिम्मेवारी प्रदान गरिएको थियो ।
प्रतियोगिताको प्रदेशस्तरीय समन्वय, आवश्यक निर्देशन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल भारत मैत्री सङ्घका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश अध्यक्ष शिशिर लम्सालले गरेका थिए ।
प्रतियोगितामा सङ्कलन गरिएका उत्तर पुस्तिका भदौ महिनाभित्रै परीक्षण गरी उत्कृष्ट तीन विद्यार्थी छनोट गर्ने तयारी गरिएको छ । सङ्घका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
नेपाल र भारतबिचको बहु आयामिक सम्बन्धलाई विद्यार्थी तहदेखि नै बुझाउने तथा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ पुस्तामाझ थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।